२६ वैशाख २०८१, बुधवार

निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण

१७ माघ २०८०, बुधवार
Image

झिलझिले, १७ माघ । शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सीज इलिंस बोर्डिङ स्कुलको सहआयोजनामा भएको शिविरमा ५६२ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । 

सहिद दिवसको अवसर पारेर आयोजना गरिएको शिविरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापा, नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङघ मेची र दृष्टि आँखा तथा कान अस्पतालले करिब दुई लाख ५० हजार बराबरको औषधि निःशुल्क वितरण गरेका थिए । 

ओम साई पाथिभरा अस्पताल भद्रपुर, दृष्टि आँखा तथा कान अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो । शिविरमा स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, कान र आँखा सम्बन्धीका रोगका बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । सो सिविरमा ओम साई पाथिभरा अस्पताल भद्रपुरका डाक्टर कुन्दन कुमार यादव, डाक्टर जयकुमार ठाकुर र डाक्टर श्रवणकुमार राउतले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । 

आयोजक संस्थाका अध्यक्ष मोहनप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्त कुमार फेउदेनले समाज रूपान्तरणका लागि वित्तीय संघसंस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।  उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय र शैक्षिक संस्थाले समाज रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

छिमेकी बचत तथा ऋण सहकारी संस्थाकी संचालक समिति सदस्य संगीता कोइराला सुवेदीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक उदय प्रकाश राईले प्रस्ट्याएका थिए । उनले छिमेकी बचत तथा ऋण सहकारी संस्थाले वर्षेनी समुदायमा रचनात्मक काम गर्दे आएको बताउनुभयो ।