२० वैशाख २०८१, बिहिवार

सौर्य ऊर्जा परियोजना उद्घाटनको तयारी पूरा

१८ माघ २०८०, बिहिवार
Image

झापा, १८ माघ । शिवसताक्षी नगरपालिका–४ मा झापा इनर्जीले निर्माण गरेको कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा विद्युत परियोजनाको उद्घाटन आगामी माघ २३ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने हुनुभएको छ । 

तीन बर्ष अघि संविधानसभा सदस्य सुवासचन्द्र नेम्वाङले शिलान्यास गरेको परियोजनाले एक महिना अघिदेखि निरन्तर विद्युत उत्पादन गर्दै आएको छ । यहाँ उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । 

इनर्जीले परियोजना रहेकै स्थानमा विहीबार पत्रकार सम्मेलन गरी उद्घाटन तयारी गरेको जनाएको छ । इनर्जीका अध्यक्ष लालबहादुर (एलपी) साँवाले उद्घाटन कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभएको छ । उहाँले हाल उर्जालाई पर्यापर्यटनसँग पनि जोड्ने उद्देश्यले करिब तीन विगाह जमिनमा ‘व्यूटिफिकेसन’ गर्ने काम भइरहेको बताउनुभयो । 

परियोजनामा रु.८० करोड लगानी भएको उहाँले बताउनुभयो । कम्पनीका अध्यक्ष साँवाले नेपालमा बिद्युत उर्जा उत्पादनको ११४ बर्षमा तीन हजार मेगावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको उर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गर्नुभयो ।

इनर्जीले खरिद गरेको २१ विगाह १३ कठ्ठा जमिन मध्ये २१ विगाह जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको गरिएको सञ्चालक पवित्रा महतराले बताउनुभयो । उहाँले इनर्जीको लिजमा लिएको सहित २७ विगाह जमिन रहेको बताउनुभयो । आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मै विद्युत खरिद, बिक्री प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो ।

नेपाल बिद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रसारणको ३५ दिनमा ८ लाख यूनिट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिनुभयो । उहाँले हाल ६ मेगावाट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भए पनि मौसम सफा हुनेवित्तिकै १० मेगावाट उत्पादन हुने बताउनुभयो ।