१५ वैशाख २०८१, शनिवार

क्यान्सर रोकथाम अभियानमा सघाउने झापाका मेयरहरुको अठोट

२१ माघ २०८०, आइतवार
Image

झापा, २१ माघ । झापाका पालिकाहरुले क्यान्सर लाग्नै नदिनका लागि जनचेतना जगाउने अभियानमा सघाउने सामूहिक प्रतिवद्धता जनाएका छन् ।

क्यान्सर फाउन्डेसन नेपालले आज विर्तामोडको सिद्धार्थ होटलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बक्ता रहेका विर्तामोड, मेचीनगर, कनकाई, शिवसताक्षी र अर्जुनधारा नगरपालिकाका नगर प्रमुखहरुले उक्त प्रतिवद्धता जनाउनु भएको हो ।

फाउन्डेसनले झापामा क्यान्सर रोकथामका लागि चेकजाँच अभियान सञ्चालन गर्न निकट भविष्यमै ‘मोबाइल स्क्रिनिङ बस सेवा’ सुरु गर्ने भएको छ । 

उक्त सेवा सञ्चालन, जनचेतना कार्यक्रम र क्यान्सरविरुद्धको खोप लगाउने कार्यका लागि पालिकाहरुले आवश्यक सहयोग गर्ने भएका हुन् ।

‘हरेक महिना झापाका पालिकाका प्रमुख तथा उपप्रमुखहरुको संयुक्त बैठक बस्ने गरेको छ,’ विर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतराले भन्नुभयो–‘त्यो बैठकमा सहयोगको प्रस्तावमा छलफल गरेर आवश्यक सहयोग उपलब्ध गराइने छ ।’

कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्यकारी प्रमुख महेन्द्र गिरी, मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकी, शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, कनकाईका नगर प्रमुख राजेन्द्र पोखरेल र अर्जुनधाराकी कार्यवाहक नगर प्रमुख खड्गमाया पराजुलीले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्ष समेत रहनु भएको क्यान्सर फाउन्डेसन नेपालका अध्यक्ष डा. वीरेन्द्र यादवले झापामा स्वास्थ्य क्षेत्रलाई सबैले कम प्राथमिकता दिएको गुनासो ब्यक्त गर्नुभएको थियो ।

उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा संसारकै आधुनिक उपचार प्रविधि र जनशक्ति भए तापनि हुनेखानेहरु विदेश जाने र गरीवहरु उपचार गर्न आउनै नसक्ने अवस्था भएको बताउनुभयो ।

उहाँले झापामा वर्षेनी ४ हजारभन्दा धेरै क्यान्सरका रोगी थपिने गरेको जनाउँदै उपचार गर्यो भने क्यान्सर निको हुने रोग भएको बताउनुभयो । सहरीकरण, विषादीयुक्त खाना र सुर्ती–मदिराजन्य वस्तुले क्यान्सर फैलाइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लव अफ विर्तामोड मिडटाउनका अध्यक्ष सिद्धार्थ नविनले धन्यवाद ज्ञापन, पूर्व अध्यक्ष शुभ कुमाईले तथ्यांक प्रस्तुति र पूर्व अध्यक्ष शिवकुमार अग्रवालले उद्घोषण गर्नु भएको थियो ।