२० वैशाख २०८१, बिहिवार

उल्लासपूर्वक स्वर्ण महोत्सव मनाउँदै बालकल्याण मावि

२१ माघ २०८०, आइतवार
Image

मेचीनगर, २१ माघ । मेचीनगरको बालकल्याण माध्यमिक विद्यालयले यही फागुन २ र ३ गते स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालय २०३१ सालमा स्थापना भएको थियो । 

आज पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी भइरहेको जानकारी दिइएको छ ।

महोत्सव क्रममा मेचीनगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता र छात्र क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयलाई क्रमशः २० हजार र १५ हजार नगदसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार आज भएको हाजिरी जवाफ प्रतियोगितामा बाल कल्याण मावि प्रथम, धुलाबारी मावि दोस्रो र काँकरभिट्टा मावि तेस्रो भएका थिए । 

फागुन ३ गते वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी विद्यालयलाई जग्गा दिने जग्गादाता, संस्थापक, शिक्षाप्रेमी व्यक्तित्वहरुलाई समेत सम्मान गरिने भएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिश्वप्रकाश शर्माको प्रमुख अतिथि रहनु हुने भएको छ । सोही अवसरमा विद्यालयमा पूर्व विद्यार्थी समाजले विद्यालयमा गुरुबा गुरुआमालाई सम्मान गर्न लागेको पूर्व विद्यार्थी समाजका अध्यक्ष नवराज सुवेदीले बताउनु भयो । 

महोत्सवमा स्वर्ण स्तम्भ र सरस्वती माताको मन्दिरको उद्घाटन गरिनेछ भने विद्यालयको इतिहास समेटिएको स्वर्ण स्मारिका प्रकाशन गरिने विद्यालयका सहप्रधानाध्यापक धनराज पौडेलले बताउनुभयो ।