१९ वैशाख २०८१, बुधवार

उपेक्षितलाई सम्मान गर्दै प्रेस चौतारी

२२ माघ २०८०, सोमवार
Image

झापा, २२ माघ । प्रेस चौतारी झापाले दुई दशक अघि संगठनको नेतृत्व गरेका अग्रज तोयानाथ दाहाल उपेक्षितलाई आज सम्मान गर्दैछ ।

संठनको २६ औं स्थापना दिवसको अवसर पारेर गरामनीस्थित सहिद नेत्र पार्कमा एक कार्यक्रम आयोजना गरेर उहाँलाई सम्मान गरिने चौतारीका जिल्ला उपाध्यक्ष प्रदिप परियारले बताउनुभयो ।

२०५४ सालमा प्रेस चौतारी नेपालको स्थापना भएको थियो । लगत्तै झापामा पत्रकार नेत्र पाठकको अध्यक्षतामा पहिलो जिल्ला कमिटी गठन भएको थियो । पाठकपछि पत्रकार उपेक्षित संठनको झापा अध्यक्ष हुनुभएको थियो ।

झापामा प्रेस चौतारीको स्थापना र संगठन विस्तारमा उपेक्षितको ठूलो योगदान रहेको छ । उसबेला पत्रकारहरु उपेक्षित, स्वागत नेपाल र रमेश गौतम मिलेर पत्रिका प्रकाशित गर्नुहुन्थ्यो ।

गौरादह–६ कोहवरा निवासी उपेक्षित पारिवारिक जीवन यापनका लागि वैदेशिक रोजगारीका लागि अरब मुलुक जानुभयो । उहाँ गएपछि पत्रकार गणेश पोखरेलले संठनको नेतृत्व सम्हाल्नु भएको थियो । 

चौतारीले स्थापना दिवसको अवसर पारेर झापाली पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर समेत सञ्चालनग गर्ने भएको छ ।