२५ वैशाख २०८१, मङ्गलवार

श्रद्धासुमन

झापाका जनपक्षीय कांग्रेस नेता बुढाथोकीको निधन

२३ माघ २०८०, मङ्गलवार
Image

झापा, २३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । 

अर्जुनधारा नगरपालिका वडा नंं ८ निवासी बुढाथोकी जुझारु, जनपक्षीय र साझा नेताको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द बुढाथोकी र शिशिर बुढाथोकी एवम् दुई छोरी ममता बुढाथोकी र कविता बुढाथोकी हुनुहुन्छ ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईका अनुसार लामो समयदेखि प्रोस्टेट क्यान्सरको उपचार गराइरहनु भएको उहाँको गए राति ११ः३० बजे उपचारकै क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा निधन भएको हो ।

पञ्चायत कालमै वि.सं. २०४३ मा जनपक्षीय उम्मेद्वार बनेर उहाँ राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ जलश्रोत राज्यमन्त्री बन्नुभएको थियो । उहाँ वि.सं. २०६४ सालमा नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने वि.संं २०७० मा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसको सरकार गठन हुँदा उहाँ सामान्य प्रशासन मन्त्री नियुक्त हुनुभएको थियो । निडर र स्पष्ट वक्ता भएकाले उहाँ जनतामाझ ‘झापाको सेतो बाघ’ भनेर चिनिनु हुन्थ्यो ।

नेपालका तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह र भूटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जीलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गर्नुभएको नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । वि.सं. २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गर्नु भएको उहाँ पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि पर्नु भएको थियो । 

पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक संगठनको सभापति समेत बन्नु भएको उहाँ केही समय पञ्चायतको समर्थक र बहुदलीय प्रजातन्त्रकालमा केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत सक्रिय बन्नु भएको थियो ।

बिगत दुई सातादेखि उहाँलाई प्रोस्टेटको समस्या जटिल भएपछि बिराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको उहाँको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको पार्टीका जिल्ला सचिव हुमागाईले बताउनुभयो ।

उहाँको पार्थिव शरीर मंगलबार झापा ल्याइने र शबयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।