२६ वैशाख २०८१, बुधवार

प्रिय नेतालाई अश्रुपुरित नयनले विदाइ गरे झापालीले

२३ माघ २०८०, मङ्गलवार
Image

झापा, २३ माघ । चार दशक अघिदेखि राजनीतिको शिखरमा रहिरहन सफल नेपाली कांग्रेसका जुझारु नेता केशवकुमार बुढाथोकीलाई आज झापालीहरुले अश्रुपुरित नयनका साथ अन्तिम विदाइ गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमवार राति ११ः३० बजे ८० वर्षको उमेरमा निधन भएपछि मंगलबार उहाँको शवयात्रामा सहभागी हजारौ झापालीको आँखा आँशुले भिजेको थियो । 

अर्जुनधारा नगरपालिका वडा नंं ८ निवासी बुढाथोकी पञ्चायती शासनको उत्तरार्धदेखि अहिलेसम्म नै झापाली जनतामा जुझारु, जनपक्षीय र साझा नेताको रुपमा परिचित हुनुहुन्थ्यो । निडर र स्पष्ट वक्ता भएकाले उहाँलाई जनताले ‘सेतो बाघ’को संज्ञा दिएका थिए ।

लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी रहनु भएको उहाँको उपचारकै क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा निधन भएको थियो ।


मुलुक बाहिर रहेका छोराछोरीहरु आएपछि मंगलवार विहान उहाँको पार्थिव शरीरलाई शनिश्चरेस्थित निवासमा ल्याइएको थियो । त्यहाँबाट विर्तामोडस्थित पार्टीको जिल्ला कार्यालयमा उहाँको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि राखिएको थियो । दिउँसो शबयात्रा सुरु भएको थियो । कनकाई आर्यघाटमा उहाँको दाहसंसकार गरिएको थियो ।

दुःख र समस्यामा परेका जोकोही व्यक्तिलाई आफ्नो र बिरानो नठानी समाधान र सहयोग गरेर पठाउने उहाँको बानीका कारण उहाँलाई दुःखी र गरीवले अभिभावक ठान्थे । मीठो र हितैषी बोली र व्यवहार भएका कारण उहाँ ठूलो पदमा हुँदा होस् या पदमा नहुँदा नै किन नहोस्, सबैका लागि खुला र सहज नेता हुनुहुन्थ्यो ।

ओलीले दिए श्रद्धाञ्जलि, शर्माले ओढाए पार्टीको झण्डा


सोमवार विर्तामोड पार्टी कार्यालयमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रद्धाञ्जलि अर्पण गर्न पुग्नु भएको थियो । उहाँ निकै भावुक हुनुभएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका अध्यक्ष ओली काठमाडौंबाट सोमवार विहानको सौर्य एयरलायन्सको एउटै जहाजबाट सँगसँगै गृहजिल्ला आउनु भएको थियो । शिवसताक्षीमा १० मेगावाटको झापा इनर्जीको उद्घाटन गर्न झापा आउनु भएको एमाले अध्यक्ष ओली चारआलीबाट शिवसताक्षी जानुअघि सोझै नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर आफ्ना प्रिय साथी बुढाथोकीलाई श्रद्धाञ्जलि अर्पण गर्नु भएको थियो ।

पार्टी कार्यालयमा शबयात्रा सुरु हुनु अघि बुढाथोकीको पार्थिव शरीरमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले चारतारे झण्डा ओढाउनु भएको थियो । सो अवसरमा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व मुख्यमन्त्री उद्धव थापा, जिल्ला सभापति देउमान थेबे, बुढाथोकी परिवारका शोकाकूल सदस्यहरु, कांग्रेस कार्यकर्तासहित हजारौं झापालीको उपस्थिति रहेको थियो ।

त्यहाँ उपस्थित सबैको आँखा रसाएको देखिन्थ्यो । स्व. बुणथोकीकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द बुढाथोकी र शिशिर बुढाथोकी एवम् दुई छोरी ममता बुढाथोकी र कविता बुढाथोकी शवयात्रामा हुनुहुन्थ्यो ।

राजादेखि रंकसम्मका साथी


उहाँ राजादेखि रंकसम्मका साथी हुनुहुन्थ्यो । कसैसँग नदब्ने र मिल्ने बेलामा सबैसँग उत्तिकै हितैषी हुने उहाँको स्वाभाव थियो । 

पञ्चायत कालमै वि.सं. २०४३ मा जनपक्षीय उम्मेद्वार बनेर उहाँ राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ जलश्रोत राज्यमन्त्री बन्नुभएको थियो । उहाँ वि.सं. २०६४ सालमा नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने वि.संं २०७० मा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसको सरकार गठन हुँदा उहाँ सामान्य प्रशासन मन्त्री नियुक्त हुनुभएको थियो । नेपालका तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह र भूटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जीलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गर्नुभएको नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । वि.सं. २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गर्नु भएको उहाँ पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि पर्नु भएको थियो । 

पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक संगठनको सभापति समेत बन्नु भएको थियो । लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय छ ।

उहाँको पार्थिव शरीरलाई मंगलबार अपराह्न कनकाई नदीमा अन्त्येष्टि गरिएको थियो ।