२६ वैशाख २०८१, बुधवार

एमाले झापामा अध्यक्ष बन्ने अनुहार

२५ माघ २०८०, बिहिवार
Image

झापा, २५ माघ । नेकपा एमाले झापाको नयाँ नेतृत्व छानिनेगरी आगामी वैशाख १४ र १५ गते ११ औं जिल्ला अधिवेशन हुने भएको छ ।

केन्द्रबाट प्रदेश र जिल्ला हुँदै पालिका तहमा अधिवेशन गर्ने पार्टीको नीति अनुरुप जिल्लाको अधिवेशन मिति तोकिएको हो ।

झिलझिलेमा हालै सम्पन्न जिल्ला कमिटीको आठौं पूर्ण बैठकले अधिवेशनको मिति तोकेको हो । मिति तय भएसँगै जिल्लाको भावी नेतृत्वको अनुहारको खोजी पनि सुरु भएको छ ।

पार्टीभित्र चलेको चर्चा अनुसार अहिलेका कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेल अध्यक्ष पदको आकांक्षी हुनुहुन्छ ।

अध्यक्षबाट केन्द्रीय सदस्यमा मनोनित भएपछि दिपक कार्कीले साविकका उपाध्यक्ष गिरीलाई कार्यवाहक अध्यक्ष बन्ने बाटो खुला गरिदिनु भएको थियो । अब उहाँको दावी अध्यक्षमा रहने पक्कापक्की छ ।

संविधानसभाका सदस्य र खुदुनाबारी गाविसका तत्कालीन अध्यक्ष रही जनप्रतिनिधिको भूमिकामा खरो उत्रिनु भएको गिरी कुशल संगठक र विकासप्रेमी नेताको रुपमा परिचित हुनुहुन्छ ।

सचिवको जिम्मेवारी पूरा गर्नु भएको ढुंगेललाई अध्यक्ष पदका लानुपर्छ भनेर पार्टीभित्र लबिङ भइरहेको पाइएको छ । आवश्यक परे चुनावी प्रतिष्पर्धामा ढुंगेललाई उतार्ने गरी तयारी भएको ढुंगेल निकटहरुको भनाई छ । उहाँ हालसम्म संसदीय मोर्चामा नजानु भएको र कुनै पनि लाभको पदमा नबसी पार्टीको काममा निरन्तर लागिरहेको हुँदा उहाँलाई अध्यक्ष बनाउनु पर्ने आवाज उठेको हो ।

तर, पार्टीभित्र दुबै नेता केपी ओली लाइनका भएको हुँदा एक जनाको नाममा सहमति जुटाइने पार्टीकै नेताहरु बताउँछन् । गिरीलाई अध्यक्ष बनाएर ढुंगेललाई उपाध्यक्ष बनाउनु पर्छ भन्ने मत पनि पार्टीभित्र बलियो छ ।  

२०८० चैत मसान्तसम्मका पार्टी सदस्य नै आगामी जेठ मसान्तसम्म कायम रहने भएकाले सबैले अधिवेशनमा सहभागी हुन पाउने माथिल्लो कमिटीले निर्णय गरेको जनाइएको छ ।