२५ वैशाख २०८१, मङ्गलवार

पाँच बुँदे सहमति

कोशीमा पहिचान पक्षधरको आन्दोलन फिर्ता

२६ माघ २०८०, शुक्रवार
Image

झापा, २६ माघ । पहिचान पक्षधरले कोशी प्रदेशको नामाकरणमा अहसमति जनाउँदै सञ्चालन गरेको आन्दोलन फिर्ता लिएको छ ।

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज विराटनगरमा भएको वार्ताम पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो । 

विहीवार र शुक्रबार दुई दिन वार्ता चलेको थियो । वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।

सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख छ ।

पाँच बुँदे सहमतिसँगै कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ ।

वार्तामा बसेका दुवै पक्षले सहमतिका बुँदा सार्वजनिक गर्न शुक्रबार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

यो वार्ताबाट प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोले विकास समृद्धिको कामले तीव्रता पाउने मुख्यमन्त्री केदार कार्कीले बताए ।

यी हुन् सहमतिका बुँदा–

१. प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने ।

२. आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

३. पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने ।

४. पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने ।

५. अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने ।