२६ वैशाख २०८१, बुधवार

सहयोगको अपिल

आर्थिक अभाव भएपछि ‘मस्तिष्कको ढकनी’ अस्पतालमै

२७ माघ २०८०, शनिवार
Image

झापा, २७ माघ । मस्तिष्क घात भएका मेचीनगर–१० का विपन्न परिवारका ३० वर्षीय संजोग थापा मगरको शल्यक्रियाको क्रममा अस्पतालको शीत भण्डारमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी) जोड्न आर्थिक अभाव भएको छ ।

वैदेशिक रोजगारीमै रहँदा उच्च रक्तचापको बिरामी भएपछि घर फर्किनु भएको उहाँलाई गत कार्तिक १ गते मस्तिष्क घात (ब्रेन हेमोरेज) भएको थियो । विर्तामोडको बीएन्डसी हस्पिटलमा शल्यक्रियापश्चात उहाँलाई ३९ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

शल्यक्रियाका क्रममा उहाँको टाउका पछाडिको खोपडीको एउटा भाग अस्पतालमै राखिएको राखिएको आमा दिलमाया थापा मगरले बताउनुभयो । “डाक्टर साहेबले तीन महिनापछि खोपडी लगाउन आउनु भन्नु भएको थियो,” उहाँले भन्नुभयो–“खोपडी लगाउन फेरि धेरै पैसा लाग्छ रे, हामीसँग त केही पनि छैन ।”

अस्पतालले तीन महिनाभित्र आउनु भने तापनि आर्थिक जोहो नभएका कारण संजोगलाई लैजान नसकिएको उहाँको उपचारमा जनस्तरबाट आर्थिक सहयोग जुटाइरहेका छिमेकी ऋषिराज भट्टराईले बताउनु भएको छ । अस्पतालले खोपडी जोड्न दिएको म्याद एक महिना नाघिसकेको हुँदा चिन्ता थपिएको उहाँले बताउनुभयो ।

“पहिले पनि शल्यक्रिया र अरु उपचार गराउन चन्दा उठाएका थियौं,” भट्टराईले भन्नुभयो–“अहिले लगभग तीन लाख रुपैयाँ सहयोग जुटाउन सके खोपडी जोडिदिन सकिन्थ्यो । तर, आर्थिक सहयोग जुट्न सकिरहेको छैन ।”

संजोग मलेसियामा रोजगार गरेर गत वर्ष घर फर्किनु भएको हो । घर चलाउनै आर्थिक संकट परेपछि उहाँकी पत्नी लक्ष्मी थापा मगर छ महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई जानु भएको छ । उहाँहरुको छोरी ९ वर्ष र छोरा ७ वर्षका दुई नाबालक सन्तान छन् । संजोगका वुवा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । आमा दिलमाया थापा पनि विरामी हुनुहुन्छ । घरका सबै बिरामी अवस्थामा र कमाउने एक जना विदेशमा भएको हुँदा परिवारका तर्फबाट उपचार खर्च जुटाउन सम्भव छैन । 

संजोगका भिनाजु थमबहादुर तामाङले संजोगको शल्यक्रिया, आइसीयु र औषधि उपचार गरेर बिगतमा रु. १२ लाखको बिल उठेको बताउनुभयो । चन्दा संकलन गरेर रु. चार लाख बुझाएपछि अस्पतालले मानवीय आधारमा रु. आठ लाख मिनाहा गरिदिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालबाट डिस्चार्ज भएर आएका संजोग हाल घरमै औषधि खाएर स्वास्थ्यलाभ गरिरहनु भएको छ । उहाँको स्वास्थ्यमा चमत्कारिक सुधार आएको छ । मस्तिष्क घातका कारण पक्षाघातको अवस्थामा पुगेका शरीरका अंगहरु पुरानै अवस्थामा चलायमान बनाउन घरमै बाँसका खुट्टी गाडेर हिँडडुल गराउने घरेलु थेरापी सुविधा मिलाइएको छ ।

आर्थिक सहयोगका लागि विदेशमा रहेका नेपालीसँग पनि सामाजिक सञ्जालबाट आर्थिक सहयोगको आह्वान गरिएको भट्टराईले बताउनुभयो । दुबईमा रहेकी संजोगकी पत्नी लक्ष्मी थापा मगरले महिनैपिच्छे औषधि किन्न लाग्ने रु. १५ हजार रकम पठाइरहनु भएको छ भने खोपडी जोड्न थप रु. ५० हजार पठाउने तयारी भइरहेको भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच, दमकस्थित दातृ संस्था क्यारिटास नेपालले संजोगको टाउकाको खोपडी जोड्नका लागि रु. ७५ हजार सहयोग गरेको छ । क्यारिटास नेपालका कोशी प्रदेश प्रमुख देबेन्द्र पोखरेल र वरिष्ठ कर्मचारी हिमालय अधिकारीले आज संजोगलाई घरमै गएर उक्त नगद सहयोग हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले शल्यक्रिया गर्नका लागि समेत यसअघि रु. ५० हजार सहयोग पुर्याएको थियो ।

“वैदेशिक रोजगारीबाट बिरामी भएर फर्केकाहरुको उपचारमा सहयोग पुर्याउँदै आएका छौं,” क्यारिटास नेपालका कोशी प्रमुख पोखरेलले भन्नुभयो–“संजोगको आर्थिक अवस्था ज्यादै कमजोर रहेछ । पैसा नभएरै टाउकाको खोपडी जोड्न उहाँ जान सकिरहनु भएको छैन भन्ने थाहा पाएपछि हामीले पुनःसहयोग दिएका हौं ।”

बीएन्डसी हस्पिटलका वरिष्ठ चिकित्सक प्रा.डा. उमेश शर्माले टाउकाको शल्यक्रियापछि अवस्था अनुसार उपचारकै क्रममा मस्तिष्कको ढकनी झिक्ने र पछि लगाउनु पर्ने हुनसक्ने बताउनुभयो । यसलाई चिकित्सा भाषामा ‘क्रेमियोप्लास्टी’ भनिने उहाँले जानकारी दिनुभयो ।

संजोगको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी मेचीनगर नगरपालिकाले हालै अपांगता परिचय पत्र दिएको छ भने एउटा ह्वीलचियर समेत दाताबाट उपलब्ध गराइएको छिमेकी भट्टराईले बताउनुभयो । सहयोगका लागि खाता नं. यसप्रकार छ ।

बैंक खाताको विवरण : बैंक : ग्लोबल आइएमई बैंक, धुलाबारी शाखा खातावालाको नाम : थमबहादुर तामाङ खाता नं. ०२३०७०१०१२४९५९