२६ वैशाख २०८१, बुधवार

अबैध व्यापारलाई निरुत्साहित गर्न अर्थमन्त्रीको निर्देशन

२८ माघ २०८०, आइतवार
Image

झापा, २८ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैध व्यापारलाई प्रोत्साहन गर्न र अबैध व्यापारलाई निरुत्साहित गर्न मेची भन्सार कार्यालयलाई निर्देशन दिनुभएको छ । 

दमक महोत्सवको उद्घाटन गर्न झापा आउनुभएका अर्थमन्त्री महतले मेची भन्सार कार्यालयको निरीक्षण गर्दै आज भन्सार कर्मचारीहरुलाई सो निर्देशन दिनुभएको हो । उहाँले लक्ष्य अनुरुपको राजस्व संकलन गर्न कडाईका साथ लागि पर्ने निर्देशन दिनुभएको छ ।

अर्थमन्त्री महतले आजै भद्रपुर भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय भद्रपुरको समेत निरीक्षण गर्नुभएको छ । उहाँले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई समन्वय गरेर कडाईका साथ लाग्न आग्रह गर्नुभयो ।

मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले बर्तमान अवस्थाको बारेमा मन्त्री महतलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा व्यापारी, उद्योगी र व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।