१७ असोज २०८१, बिहिवार

झापाको फेवातालमा बढ्यो पर्यटकीय आकर्षण

१ फागुन २०८०, मङ्गलवार
Image

झापा, १ फागुन । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको विशाल तालमा पर्यटकीय आकर्षण बढेको छ । 

प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामाकरण गरिएको छ । सामुदायिक बनको ३९० हेक्टर बन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिगाहा जग्गामा यो पर्यटकीय क्षेत्र निर्माण भएको हो । जसमध्ये २० बिगाहाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ । 

पर्यटकको मनोरञ्जनका लागि तालमा छ वटा डुङ्गा सञ्चालन गरिएको छ । यस क्षेत्रमा आउने अधिकांश पर्यटकले डुंगा सयर गर्ने हुँदा सामुदायिक बनको आम्दानीको स्रोत बढेको वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताउनुभयो । वरिपरि सालको जंगल भएको हुँदा तालको वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ ।

यहाँ बनभोजसहित अवलोकन गर्ने आन्तरिक र बिदेशी पर्यटक बढ्ने क्रम छ । यसवर्षको माघ महिनामा ५२ हजार आन्तरिक र बिदेशी पर्यटकको आगमन भएको समितिले जनाएको छ । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अनुरुप विभिन्न संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि साना पसल र खाजाघरहरुको संख्या पनि बढेको छ । जसबाट स्थानीयको जीविकाका मदत पुगेको छ । 

पर्यटकलाई मनोरञ्जनका साथै तालबाट थप आम्दानी आन्तरिक आम्दानी बढाउने उद्देश्यले तालमा यसबर्ष एक लाख माछाको भुरा छाडिएको उहाँले जानकारी दिनुभयो ।

तालमा पालेको माछा आफै बल्छीले मारेर खरिद गर्न सक्ने र त्यहीँ पकाएर खान सक्ने सुविधा समेत पर्यटकलाई उपलब्ध गराइएको हुँदा यस योजनामा समेत पर्यटकको आकर्षण बढेको छ । “तालमा सयर गर्ने अधिकांश पर्यटकले फिसिङ गर्न पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेपछि हामीले त्यसको व्यवस्था मिलाएका छौं,” अध्यक्ष सिग्देलले भन्नुभयो–“फिसिङका लागि भारतको दार्जीलिङ र सिलिगुढीदेखि भारतीय पर्यटक समेत आउन थालेका छन् ।”

शनिवार र विदाका दिन यहाँ पर्यटक खचाखच हुन्छन् । पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन र थप पूर्वाधार निर्माणमा लगानी भइरहेको समितिले जनाएको छ । 

पर्यटकहरुले पोखराको फेवातालकै झल्को पाएको बताउँछन् । “नाम पनि फेवाताल नै राखिएको रहेछ,” साथीसँग घुमफिरका लागि आएको बताउने दमक–४ की प्रमिला सिलवालले भन्नुभयो–“जंगलको माझमा ठूलो पोखरीमा डुंगा चढ्दा मज्जा लाग्यो । तर, वरिपरि ठूला ठूला रुखको घारी भएको हुँदा डर पनि लाग्यो ।” उहाँले जंगल सफारीमा गएको जस्तो भएको अनुभूति सुनाउनुभयो ।

यहाँको ताल छेउको खुल्ला ठाउँमा पर्यटकलाई बस्नका लागि छ वटा गोलघर निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकको आगमन ह्वात्तै बढेसँगै बन समितिले २० वटा गोलघर थप्ने योजना बनाएको अध्यक्ष सिग्देलले बताउनुभयो ।

स्थानीय तह र बन समूहको करिब रु दुई करोड  ५० लाख बजेट यस पर्यटकीय स्थलको निर्माण, व्यवस्थापन र पूर्वाधार निर्माणमा लगानी भइसकेको छ । सिमसारलाई उत्खनन गरेर तालको क्षेत्रफल बढाइएको छ भने यहाँ सडक, विद्युत, पिउने पानी लगायतको सुविधा पुर्याइएको छ । ताल क्षेत्रमा पर्यटकलाई मनोरञ्जनका लागि दुई वटा आकर्षक पुल निर्माण गरिएको छ । आकर्षण प्रवेशद्वारसहित २० फुटे अग्लो सुरक्षित पोस्ट, तारजालीको घेराबेरा र सुन्दर बगैचा निर्माण गरिएको छ ।

मेचीनगर–१३ वडा कार्यालयले पटकपटक गरेर रु. २७ लाख र मेचीनगर नगरपालिकाले फलामे पुल निर्माणका लागि रु. १५ लाख बजेट बिनियोजन गरेको छ भने अन्य लगानी सामुदायिक बनको आन्तरिक श्रोतबाट जुटाइएको बताइएको छ । 

कोशी प्रदेश सरकारबाट पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्न प्राप्त रु. २५ लाख र जलाधार संरक्षणका लागि वन मन्त्रालयबाट रु. २५ लाख बजेट बिनियोजन भएको समेत समितिले जनाएको छ । 

पर्यटकका लागि यस क्षेत्रमा ढिकी, जातो, ठेकीलगायत लोपोन्मुख बस्तुहरुको संरक्षण गरेर संग्रहालय राख्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ निर्माण गर्ने, स्थानीय संस्कृति झल्किने गरी विभिन्न समुदायका मठमन्दिर, गुम्बा एवम् धार्मिक संरचनाको निर्माण गर्ने समितिको भावी योजना रहेका अध्यक्ष सिग्देलले बताउनुभयो । “एग्रो टुरिजमको रुपमा समेत यसलाई विकास गर्ने भावी योजना छ” उहाँले भन्नुभयो । 

झापाका ५९ वटा सामुदायिक बनमध्ये ३५ वटाले पर्या–पर्यटन क्षेत्रको योजनाबद्ध बिकास गरिरहेको बन डिभिजन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले जानकारी दिनुभयो । उहाँले चौतर्फी सम्भावनायुक्त हातेमालो बनभित्रको निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रलाई व्यवस्थित विकास गरेर देशकै नमूना बनाउन सकिने बताउनुभयो ।

बि.सं. २०३५ अघि सिमसार क्षेत्रमा राजबंशी, धिमाल समुदायले झाँडी फाँडेर बसोबास पनि गरेका थिए । सिमसार क्षेत्र भएकाले यहाँ अन्यसँगै झिँगे माछा बढी नै पाइन्थ्यो । त्यसैले राजबंशी समुदायले यस क्षेत्रको नाम निचा–झोडा राखेको जनश्रुति छ । पछि चारआलीमा नेपाली सेनाको ब्यारेक स्थापना भएपछि सेनाले बनको रेखदेख गर्ने जिम्मेवारी पाएको थियो ।

ब्यारेक वरिपरिको जमिनमा बनभित्रको, ऐलानी जग्गा, स्कुलको जमिनमा खनजोत गर्दै नेपाली सेनाको खाद्यान्न जोहो गथ्र्याे । सिमसार क्षेत्र वरपर पनि सेनाले नै खनजोत गर्दै आएको थियो । वि.सं. २०६३ मा देशभरी बनको रेखदेख गर्न समुदायलाई जिम्मा दिने सरकारी नीति बनेपछि हातेमालो सामुदायिक बन उपभोक्ता समूह गठन भएको हो ।

बनमा तत्काल स्थानीय अर्जुन थेवेको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसपछि स्थानीय जयप्रसाद थेवे अध्यक्ष हुँदै आर्थिक बर्ष २०७२÷२०७३ सालमा बिदुर शिवाकोटीको अध्यक्षतामा बनेको कार्यसमितिले निचाझोडा सिमसारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको हो ।

यस क्षेत्रमा राजबंशी समुदायले दुर्गा र कालीको प्रतिमा स्थापना गरेर धार्मिक बिधिअनुसार पुजाअर्चना गर्दै आएको छ । अन्य जाति र धर्मका सम्प्रदायले धार्मिकस्थल निर्माणका लागि बन समितिसँग स्थान माग्दै आएका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।