२० वैशाख २०८१, बिहिवार

झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्दै मुख्यमन्त्री कार्की

९ फागुन २०८०, बुधवार
Image

झापा, ९ फागुन  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्व समस्याको समाधानका लागि सरोकारवालाहरुको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ ।

फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफै सहभागी बन्नुहुने पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताउनुभयो ।

कार्यक्रमको आयोजना कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ । जंगली हात्तीले मानव वस्तीमा पसेर जनधनको क्षति पुर्याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको २४० किलोमिटरको दूरीलाई पदयात्राले छिचोल्ने भएको छ । 

पदयात्रामा संघीय सरकारका बन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, बनका कर्मचारी, पर्यावरणविद्, संरक्षणबिद्, सामुदायिक बनका पदाधिकारी लगायतको सहभागिता रहने भएको छ । बुधवार विहान ७ बजे मेचीनगर–१ बाहुनडाँगीको प्रसाद गौडाबाट पदयात्रा सुरु हुने कार्यक्रम छ ।

“जंगली हात्तीको परम्परागत जैविक मार्गलाई पछ्याउँदै पदयात्रा अघि बढ्नेछ,” उहाँले भन्नुभयो–“मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर माननीय मुख्यमन्त्रीज्यूले स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्नुहुनेछ ।”

झापामा बिगत चार दशकदेखि जंगली हात्तीबाट स्थानीयबासी पिरोलिएका छन् । पछिल्ला दिनहरुमा यो समस्या मोरङ र सुनसरीमा समेत विस्तार भएपछि प्रदेश सरकारले न्यूनीकरणका विषयमा चासो व्यक्त गरेको मेचीनगर–४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीको धारणा छ ।

यात्राको पहिलो दिन मेचीनगर–२ को निरौला गाउँ गाई फर्म, ढकाल गाउँ, थापा चोक, बहुवन हुँदै पाँचपोखरी सामुदायिक वन, बुद्धशान्ति–४ र मेचीनगर–९ को मागुरमाडी सामुदायिक वन, बुधबारे चोकबाट दक्षिण कैदले वन हुँदै जुकेखाँडीसम्म यात्रा गर्ने तय भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो । 

दोश्रो दिन झापाकै दहिझोडा, प्रजापती, सुकेडाँगी, गैडे सामुदायिक वन र रतुवामाई बृक्षारोपण हुँदै पदयात्रा टोली चुलाचुलीस्थित सव डिभिजन कार्यालय आसपासमा बास बस्ने भएको छ । तेस्रो दिन दमक –२ को फायरलाईन, हम्सेदुम्से आपझोला, जनज्योति, लेटाङ–४ को त्रिवेणी, जनसेवा हुँदै कमलपुर सामुदायिक वनमा बास बस्ने यात्रा तालिकामा उल्लेख छ ।

चौथो दिन लेटाङ–३ को कीर्तिमान, जनचाहना, चिसाङ, आपझोला, गछियाँको लाटिझोडा साझेदारी वन हुँदै खोर्साने र इटहरी–२ स्थित सरस्वती सामुदायिक वनमा बास बस्ने कार्यक्रम तय भएको छ । पाँचौ दिन सेउती खोला कालिन्द्र सामुदायिक वन, ब्यापारी घाँरी हुँदै डुङ्गाबाट कोशी नदी तरेर श्रीलंका टापू हुँदै भागलपुरमा बस्ने कार्यक्रम तालिका तय गरिएको उहाँले जानकारी दिनुभयो । 

छैठौं दिन आमबासी हुँदै फत्तेपुर हडिया, जोगिहद, मोतिगडा र सातौं दिन लेहाले खोला, जलजले, मोहनजुर, चिसापानी, कौबाई, त्रियुगापुल, नेपालटार तथा आठौं दिन नेपालटार बजार हुँदै रातमाटे, भुल्के कटारी, बेलसोत बजारमा यात्रा समापन गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।

यसैबीच, हात्ती पीडित बाहनुडाँगीबासीका तर्फबाट सर्वपक्षीय टोलीले पदयात्रामा आउनु हुने मुख्यमन्त्री कार्कीलाई मागपत्र पेश गर्ने कार्यक्रम रहेको बाहुनडाँगी नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।