२० वैशाख २०८१, बिहिवार

कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’, छ महिनामै दुई करोड आम्दानी

१२ फागुन २०८०, शनिवार
Image


झापा, १२ फागुन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । संस्थाले सञ्चालन गरेको ‘एनएमसी एग्रो फार्म’ले छ महिनामा रु. दुई करोड छ लाख ९३ हजार १३३ आम्दानी गरेको छ ।

कारोवार र सदस्यको आधारमा कोशी प्रदेशकै ठूलामध्येको यस सहकारी संस्थाले एग्रो फार्मसहित डेरी उद्योग, बचत तथा ऋण कारोबार, सहकारी पसल र चिया व्यवसाय सञ्चालन गर्दै आएको छ । 

एग्रो फार्मका लेखा विभाग प्रमुख सुमन पोखरेलका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को अर्धवार्षिक अवधिमा गाईपालनबाट सबैभन्दा धेरै रु. ८० लाख २६ हजार ६९८ आम्दानी भएको छ । फार्ममा एक लाख १२ हजार ६४२ लिटर दुध उत्पादन भएको थियो ।

मेचीनगर–१४ कलमबाडीमा रहेको एग्रो फार्ममा १०० वटा उन्नत जातका गाई पालिएका छन् । जसमध्ये ४५ वटा गाई दुध दिइरहेका लहिनो छन् । एउटा गाईले २५ देखि ४० लिटरसम्म दुध दिने गरेको उहाँले बताउनुभयो ।

सहकारीले १६ बिगाहा जग्गा खरिद गरेर वि.सं. २०७५ देखि फार्म सुरु गरेको हो । फार्ममा कस्टम हाइरिङ सेवा, माछापालन, हाँसपालन, मौरीपालन, साइलेज र तरकारी उत्पादन हुँदै आएको छ ।

मौरीपालनबाट दुई हजार ४५ केजी मह उत्पादन भएको र त्यसको विक्रीबाट रु. १२ लाख ६८ हजार ८३५ आम्दानी भएको फार्मले जनाएको छ । फार्मले उक्त अवधिमा चार हजार ८१० केजी माछा र ७७३ केजी हाँसको मासु उत्पादन गरेको छ ।

माछापोखरी एक बिगाहा १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । जहाँ उत्पादित माछा बेचेर रु. १२ लाख ३६ हजार २४० आम्दानी गरेको फार्मले जनाएको छ ।

फार्ममा गाईभैंसीको पोषिलो आहार मानिएको बेल साइलेज उत्पादन हुने गरेको छ । फार्मले साइलेज जिल्लाभरका साना गाईफार्म र पशुपालक कृषकहरुलाई विक्री गर्दै आएको छ ।

चालू आवको छ महिनामा रु. १० लाख ७५ हजार ३६ को पोषिलो घाँस र रु. सात लाख ९० हजार १११ को बेल साइलेज विक्री भएको फार्मका अधिकृत पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार तरकारी विक्रीबाट रु. छ लाख ५० हजार ८९० र बिरुवा विक्रीबाट रु. छ लाख ५८ हजार २०० आम्दानी भएको छ । फार्मको कस्टम हाइरिङ सेन्टरबाट रु. ५५ लाख ७२ हजार १७२ आम्दानी भएको जनाइएको छ ।

वि.सं. २०५० मा बचत तथा ऋण कारोबार सुरु गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कृषि, उद्योग, व्यापार र सेवाको विविध क्षेत्रमा लगानी बढाउँदै लगेको छ । एग्रो फार्ममा मात्रै ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

एग्रो फार्ममा रु. २२ करोड ७५ लाख ९६ हजार ८३४ लगानी भइसकेको संस्थाका निवत्र्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो । आगामी दिनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीइभीटी)सँग सम्बन्धन लिएर कृषि तथा पशुपालन सम्बन्धी विभिन्न प्रकृतिका तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने फार्मको योजना रहेको उहाँले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।