२५ वैशाख २०८१, मङ्गलवार

मुम्बई र ढाका समुन्द्रमा डुब्दैछन् : पर्यावरण विज्ञ

१२ फागुन २०८०, शनिवार
Image

मेचीनगर, १२ फागुन । प्रसिद्ध पर्यावरण विज्ञ सागर धाराले ग्लोबल वार्मिङ र जलवायु संकटको सबैभन्दा ठूलो मारमा नेपाल जस्ता साना मुलुक परिरहेको बताउनु भएको छ ।

आज काँकरभिट्टामा मेचीनगरका सामाजिक अगुवासँग अन्तरक्रिया गर्दै उहाँले पर्यावरणमा निम्तिरहेको भयावह संकटसँग सर्वसाधारण अनभिज्ञ रहेकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।

अमेरिका, बेलायत, चीन, भारत जस्ता केही मुलुकले कार्वन ग्यास उत्सर्जन गर्दा निम्तिरहेको पर्यावरण संकटको मार नेपाल, मालद्विप, पाकिस्तान, बंगलादेश जस्ता मुलुकले व्यहोर्नु परेको उहाँको धारणा थियो ।

उहाँले सन् २०८० अगावै भारतको मुम्बई, कोलकाता र बंगलादेशको ढाका लगायत विश्वका थुपै सहर समुन्द्रमा डुब्ने र नेपालको हिमतालहरु विष्फोट भएर आउने बाढीले ठूलो बिनाश ल्याउने चेतावनी दिनुभयो ।

नेपालले कृषि, बन र जलविद्युतका कारण कार्वन घटाउन मदत पुर्याइरहेको हुँदा अमेरिका लगायतका प्रदूषण फैलाउने मुलुकबाट त्यसको वर्षेनी अर्बौ डलरको क्षतिपूर्ति माग्नु पर्ने उहाँले नेपाल सरकारलाई सुझाव दिनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले एसियाली राजमार्ग निर्माणको क्रममा सडक किनारका हजारौं रुख काटिने भएकाले कार्बन सन्तुलन नीति अनुरुप त्यति नै कार्वन घटाउन मदत पुग्नेगरी नयाँ बृक्षरोपण गर्न लगाउन बाध्य पार्नु पर्ने सुझाव दिनु भएको छ ।

मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पर्यावरण वैज्ञानिक सागर धाराले विश्वमा पर्यावरणको अवस्था र पूँजीबादले गरिरहेको अन्यायका बारेमा विस्तृत चर्चा गर्नु भएको थियो ।

संयुक्त राष्ट्रसंघबाट सेवानिवृत्त उहाँ भारतको हैदरबाद निवासी हुनुहुन्छ । कार्यक्रमको संयोजन मेचीनगर नगरपालिकाले गरेको हो ।