२० वैशाख २०८१, बिहिवार

दुध आयातमा लगाइएको प्रतिबन्धको डेरी संघद्वारा स्वागत

१३ फागुन २०८०, आइतवार
Image

झापा, १३ फागुन । कोशी प्रदेशको डेरी उद्योग संघले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ ।

संघमा आवद्ध आठ वटा ठूला डेरी उद्योगका सञ्चालकहरुको शनिवार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो ।

“संघले सात बुँदे निर्णय गरेको छ,” संघका संयोजक रामचन्द्र उप्रेतीले बैठकका निर्णय बारे जानकारी दिदै भन्नुभयो–“आयात खुला रहँदा स्वदेशी उत्पादन नबिक्ने समस्या भइरहेको थियो । नेपाल सरकारले हालै आयात रोक्न गरेको निर्णयले हामी खुशी भएका छौं ।”

संघले किसानहरुबाट खरिद गर्दै आएको दुधको भुक्तानी नियमित गर्ने निर्णय गरेको संयोजक उप्रेतीले जानकारी दिनुभयो । कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानहरुबाट संकलन गरेको दुधको भुक्तानीमा ठूलो समस्या नरहेको समेत उहाँले बताउनुभयो ।

कोशी प्रदेशमा रहेका डेरी उद्योगहरुमा नौनी घिउ, पाउडर र छुर्पीको स्टक आवश्यकभन्दा ज्यादा भएको जनाउँदै बैठकले आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।

बैठकमा एनएमसी डेरी उद्योग, सगरमाथा डेरी संघ, कामधेनु दुग्ध सहकारी, रितिका डेरी उद्योग, शिवम् डेरी इन्डस्ट्रिज, गोरस डेरी प्रालि, जीवन विकास डेरी र मदानी मिल्क हाउसका सञ्चालकहरुको सहभागिता रहेको थियो ।

स्टकमा पाँच लाख केजी नौनी

विक्री नभएका कारण कोशी प्रदेशका डेरी उद्योगमा पाँच लाख केजी नौनी घिउ स्टकमा रहेको व्यवसायीहरु बताउँछन् ।

बिगत छ महिना अघिदेखि विक्री न्यून भएकाले नौनी घिउ थुप्रिदै गएको हो । उद्योगीहरुका अनुसार दुधको उत्पादन बढेको बढ्यै छ, तर दुध र दुधबाट बनेका विभिन्न उत्पादनको विक्री हुन सकेको छैन । 

विक्री नभएका नौनी घिउ कोल्ड स्टोरमा भण्डारण गर्न असम्भव भइसकेको छ । निजी क्षेत्रले तरकारी भण्डारणका लागि प्रयोगमा ल्याइरहेको विर्तामोडको रोयल कोल्डस्टोर लगायत झापा र मोरङका पाँच वटा ठूला कोल्डस्टोरमा नौनी घिउ राख्ने गरिएको नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताउनुभयो ।

सीमावर्ती क्षेत्रबाट अबैध रुपमा भित्रिएको दुध र दुधजन्य पदार्थले स्वदेशी उत्पादन विक्री नभएको चिमरिया बताउनुहुन्छ । भारतमा भन्दा नेपालमा दुधको मूल्य बढी भउकाले भारतबाट लुकीछिपी दुध र पनिर भित्रिने गरेको हो ।

सरकारले दुग्धपदार्थको आयातमा प्रतिबन्ध लगाएपछि अब भारतबाट दुध, पनिर र पाउडर दुधको आयात बन्द हुने व्यवसायीहरुको अपेक्षा छ ।

खपतभन्दा संकलन भएको दुध धेरै भएपछि कोशीका डेरी उद्योगका दुध समेत विक्रीमा समस्या आउन थालिसकेको छ । दुध बिक्न छाडेपछि कोशी प्रदेशमा अधिकांश डेरीले ‘मिल्क होलिडे’ गरिरहेका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।