१२ साउन २०८१, शनिवार

अनेमसंघ झापाले दियो महिला नेतृत्वलाई प्रशिक्षण

१७ फागुन २०८०, बिहिवार
Image

विर्तामोड, १६ फागुन ः अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटीले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रशिक्षण कार्यक्रम गरेको छ । 

विर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा अनेमसंघको इतिहास, उद्देश्य, लक्ष्य र सामसामयिक राजनीतिलाई समेटेर विहीबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमित्रा भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।  

उहाँले नेपाली आन्दोलनमा अनेमसंघको भूमिका, संगठनभित्रको अनुशासन र तीनै तहको निर्वाचनमा महिलाको सहभागिताको बारेमा जानकारी गराउनुभएको थियो । 


आन्दोलनका क्रममा सुरुका दिनदेखि नै महिलाहरु संघर्षमा सक्रिय रुपमा अग्रपंक्तिमा पाइए तापनि पछिल्लो समय हरेक तह र पक्षबाट अपहेलित मात्र नभएर राज्यका निर्णायक तहमा नगण्यरुपमा मात्र महिलाको सहभागिता रहेको बताउनुभयो । 

कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य मिना उप्रेतीले प्रशिक्षण प्रदानका लागि जिल्लामा पुरुष बराबरकै योग्यता र क्षमता भएका शिक्षा र अनुभवले खारिएका महिला रहेको दाबी गर्नुभयो । उहाँले महिलाहरुको दक्षता र क्षमतालाई अवमूल्यांकन गर्दा पार्टीका प्रशिक्षण कार्यक्रममा पुरुषहरु नै हाबी हुने गरेको आरोप लगाउनुभयो । 

पार्टीकी केन्द्रीय अनुशासन आयोगकी सदस्य जसमाया जगमेरले संगठनमा मितव्ययिता र पारदर्शीता अपनाउन निर्देशन र सुझाव दिनुभयो । अनेमसंघले विगतमा गरेका र बर्तमानमा गरिरहेको कार्यको चर्चा गर्दै पार्टीका भातृ संगठनमध्ये अनेमासंघ उत्कृष्ट रहेको दाबी गर्नुभयोे । 

कार्यक्रममा अनेमसंघ कोशी प्रदेशकी सचिव हेमकला कट्टेलले संगठनले उपलब्धी गरेका कार्य र विश्व महिला आन्दोलनका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले अन्तराष्ट्रिय श्रमिक दिवसको सुरुवात र नेपाली महिलाको राजनीतिक योगदानको चर्चासहितको प्रशिक्षण प्रदान गर्नुभएको थियो । 

नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीले साम्राज्यवादी शक्तिहरु सल्बलाइरहेका बेला भातृसंगठनहरु चयामान हुनुपर्ने बताउनुभयो । 

अनेमसंघ जिल्लाकी अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो । उहाँले नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका रहेको स्मरण गर्नुभयो । उहाँले महिलाहरुको क्षमता नभएर होइन नेतृत्वले विश्वास नगरकै कारण अहिले पनि कार्यकारी पदमा महिलाहरु पुग्न नसकेको बताउनुभयो । 

उहाँले अनेमसंघले इतिहासको विभिन्न कालखण्डमा जिल्लामा योगदान गरेका महिलाहरुको बारे कृति प्रकाशन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

जिल्लाका नेतृत्व तहको महिलाहरु उपस्थित रहेको कार्यक्रमको स्वागत मन्तव्य अनेमसंघकी उपाध्यक्ष रेणुका डाँगीले र सञ्चालन सचिव लीला दाहालले गर्नुभएको थियो ।