२२ वैशाख २०८१, शनिवार

प्रथम ओलम्पियन मेनुकालाई उत्कृष्ट नारी सम्मान

२० फागुन २०८०, आइतवार
Image

झापा, २० फागुन। नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुद प्रतियोगिता एथलेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने भएको छ । 

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लव–२०२४ ले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ५२ बर्षीया राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने भएको हो ।  

मेचीनगर नगरपालिका वडा नं. ७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर भाग लिनु भएको थियो । 


नेपालको इतिहासमै एथलेटिक्स महिला धावकको रुपमा नेपालबाट ओलम्पिक खेलकुदमा सहभागिता जनाउने राउत र काभ्रेपञ्चोक निवासी राजकुमारी पाण्डेको नाम सुनौलो अक्षरले लेखिएको विरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष कञ्चना सिटौलाले बताउनुभयो । 

नेपाली महिलाहरु विश्वस्तरीय प्रतियोगितामा आफुलाई सक्षम सावित गर्न सक्छन् भन्ने उदाहरण मेनुकाले पेश गरिसकेको कारण राउतलाई उत्कृष्ट नारी सम्मान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । 

पूर्व अध्यक्ष क्लवले उत्कृष्ट नारी छनोटका लागि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा सदस्यद्वय पत्रकार अम्बिका भण्डारी र विरता जेसीजका पूर्व अध्यक्ष युवराज दाहाललाई चयन गरेको थियो । 

छनोट समितिकी सदस्य भण्डारीले पत्रकार सम्मेलनमा उत्कृष्ट नारी सम्मानका लागि मेनुका राउतलाई छनोट गरेको आज घोषणा गर्नुभएको थियो । 

क्लवले यस अघि उत्कृष्ट नारी सम्मानबाट समाजसेवी गिरिराजकुमार प्रसाईं, शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायकी पहिलो महिला पाइलट जिना लिङ्देनलाई सम्मान गरिसकेको क्लवले यस अघि उत्कृष्ट नारी सम्मानबाट समाजसेवी गिरिराजकुमार प्रसाईं, शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायकी पहिलो महिला पाइलट जिना लिङ्देनलाई सम्मान गरिसकेको राष्ट्रिय जेसीजकी उपाध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिनुभयो ।