२१ वैशाख २०८१, शुक्रवार

मन्त्रीलाई सुनाए सहिद परिवारले गुनासो

२१ फागुन २०८०, सोमवार
Image

बिर्तामोड, २१ फागुन । झापाका सहिद परिवारले कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीलाई सहिद तथा बेपत्ता परिवारले भोगिरहेको समस्या सुनाएका छन्।

सहिद प्रतिष्ठान नेपालले आज बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभा हलमा आयोजित सहिद स्मृति कार्यक्रममा मन्त्री कार्कीलाई सहिदका परिवारले गुनासो सुनाएका हुन्।

सहिद परिवारका सदस्य रत्न घिमिरे र लालसुन्दर राईले सरकारले बेपत्ता तथा सहिद परिवारलाई वेवास्ता गरेको बताउनुभयो ।

सत्तामा पुगेपछि पार्टीका नेताहरू सुख सुविधाका भोगी भएको आरोप लगाउँदै हिजो जनयुद्धकालमा बलिदान भएका सहिदका परिवारले आज गाँस, बाँस र कपासका लागि सकस भोग्नु परिरहेको सुनाउनुभयो ।

बेपत्ता परिवारका सदस्य वीरेन्द्र बस्नेतले प्रदेश सरकारबाट सहिद परिवार र बेपत्ता परिवारलाई राहत उपलब्ध गराउँदा विभेद गरेकोमा आपत्ति प्रकट गर्नुभयो। उहाँले सहिदको योगदानलाई नभुल्न पार्टी नेतृत्वलाई खबरदारी समेत गर्नुभयो।

सो अवसरमा मन्त्री कार्कीले सहिद तथा बेपत्ता परिवारको समस्या समाधानमा आफूहरू प्रतिबद्ध भएको बताउनुभयो। सहिदका सपना र बलिदानलाई कदापि नभुल्ने जनाउँदै उहाँले सहिद परिवारको शिक्षा स्वास्थ्य र रोजगारीका लागि पहल गरिने बताउनुभयो।

कार्यक्रममा झापाका ८४ जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरिएको थियो।

उक्त अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झलक सिंह दर्लामी, नेकपाका केन्द्रीय सदस्य सुमन सी, नेकपा एसका जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा श्यामवीर लिम्बुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।