२२ वैशाख २०८१, शनिवार

इतिहास रचेकी ओलम्पियन धावक मेनुका सम्मानित

२३ फागुन २०८०, बुधवार
Image

मेचीनगर, २२ फागुन । प्रथम ओलम्पियन धावकको रुपमा इतिहास सच्न सफल झापाकी मेनुका राउत आज सम्मानित हुनु भएको छ । 

वीरता लेडी जेसिजले उहाँलाई ‘उत्कृष्ट नारी सम्मान’ प्रदान गरेको हो । सम्मानसँगै झापाका ५० वटा सामाजिक संस्थाले उहाँको नागरिक अभिनन्दन गरेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उहाँलाई आज विर्तामोडको इन्द्रेणी ब्यांकेटमा विशेष समारोहबीच सम्मान तथा अभिनन्दन गरिएको हो । 

सम्मान कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशकी सामाजिक मामिला तथा कानून मन्त्री सुनिताकुमारी गुरुङ हुनुहुन्थ्यो ।

मेचीनगर–७ जोरसिमल निवासी मेनुका राउतले सन् १९८८ मा दक्षिण कोरियाको सिओलमा आयोजित ओलम्पिक खेलकुदमा नेपालको पहिलो महिला धावकको रुपमा भाग लिनु भएको थियो ।

वीरता लेडी जेसीजले हरेक वर्ष एकजना महिला प्रतिभालाई उत्कृष्ट नारी सम्मान प्रदान गर्दै आएको छ । यसअघि गिरिराजकुमारी प्रसाईं, प्रभा घिमिरे र जीना लिङ्देन सम्मानित भइसक्नु भएको छ ।

सम्मान तथा नागरिक अभिनन्दनपश्चात उहाँलाई विर्तामोड बजार परिक्रमा गराई मेचीनगरस्थित निजी निवाससम्म एस्कर्टिङसहित पुर्याइएको थियो । 

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटिकी पूर्व कोषाध्यक्ष अम्बिका भण्डारी र वीरता जेसीजका पूर्व अध्यक्ष युवराज दाहाल रहेको तीन सदस्यीय छनौट समितिले यसवर्षको सम्मानित प्रतिभाको चयन गरेको थियो ।

वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लवकी संयोजक कञ्चन सिटौला ढकालको अध्यक्षता भएको उक्त कार्यक्रममा मन्त्री गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल जेसीजका उपाध्यक्ष भीम कुँवर लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा स्वागत मुना ओली, कार्यक्रमको औचित्य बारे स्वस्तिका आचार्य र सञ्चालन संगीता गिरीले गर्नु भएको थियो ।