२२ वैशाख २०८१, शनिवार

महिला जनचेतना केन्द्रद्वारा दृष्टिविहीनहरुसँग अन्तरक्रिया

२६ फागुन २०८०, शनिवार
Image

धुलाबारी, २५ फागुन ः महिला जनचेतना केन्द्र र मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा दृष्टिविहीन महिलाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

संस्थाले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शुक्रवार काँकरभिट्टामा आयोजना गरिएको कार्यक्रममा दृष्टिविहीन महिलाले पहिलोपटक सहभागिता जनाएको बताएका छन् । 

उनीहरुले कार्यक्रममा जीविकोपार्जनमा समस्या, बालबच्चाको शिक्षा, स्वास्थ्य र राज्यले उपलब्ध गराउँदै आएको सुविधा लिन अनकांै समस्या झेल्नु परेकोे सुनाए । 

दृष्टिविहीनले उत्पादन गरेको सामाग्रीको बजारीकरणमा समस्या, स्वरोजगारमूलक कार्यक्रम गर्न आर्थिक अभावलगायतका कारणले सडकमा गीत गाएर पेट पाल्न बाध्य बन्नु परेको कथा उनीहरुले सुनाएका थिए ।  अधिकांश दृष्टिविहीनहरुले आवासविहीनहरुका लागि राज्यसँग बसोवासको व्यवस्था मिलाइन दिन आग्रह समेत गरेका छन् । 

केन्द्रकी निर्देशक राधा प्रधानले दृष्टिविहीन महिलाले जीविका, सार्वजनिक यातायातमा आवतजावत र राज्यको सुविधामा सकस भोग्नु परिरहेको हुँदा यस विषयमा सरकारको ध्यान आकृष्ट गराउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले कार्यक्रममा आउने दृष्टिविहीनहरुलाई सहयोगका लागि नगद रकम समेत उपलब्ध गराउनुभएको थियो । 

उहाँले कार्यक्रममा महिलाले सुरु गरेका स्वरोजगारमूलक संस्थाहरुलाई सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा उहाँले नेपाल र अन्य मूलुकका महिलाको सामस्या साझा रहेको धारणा व्यक्त गर्दै  अझै अधिकार स्थापितका लागि सामूहिक रुपमा लड्न आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा नगर क्षेत्रका महिला नेतृहरु, रचना घिमिरे, उषा श्रेष्ठ, विना तामाङ, लक्ष्मी पाख्रिन, विटु गुरुङ, पत्रकार अम्बिका भण्डारी, सुष्मा राजवंशीलगायको उपस्थिति रहेको थियो । कार्यक्रममा काँकरभिटटा क्याम्पसमा अध्ययनरत दृष्टिविहीन पवित्रा दाहालले तिर्नु पर्ने फि वापतको मासिक शुल्कको आधा रकम समाजसेवी विना तामाङले उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षमा भएको कार्यक्रममा सदस्य रेजिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष लक्ष्मी खनियाँले गर्नुभएको थियो । बाल विवाह न्यूनीकरण र महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील महिला जनचेतना केन्द्रले विगतदेखि नै रचनात्मक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष गुरुङको भनाई छ ।