१५ वैशाख २०८१, शनिवार

सुकुम्बासी बनेका दाता परिवारलाई घर बनाइदिने अभियान

२६ फागुन २०८०, शनिवार
Image

झापा, २६ फागुन । विर्तामोड–३ स्थित डोमालाल रंगशालालाई १४ बिगाहा जग्गा दान गर्ने स्व. डोमालाल राजबंशीका परिवार घरबारविहीन बनेपछि खेलप्रेमीहरुले स्थानीय सहयोग जुटाएर दाता परिवारलाई घर बनाउने अभियान सुरु गरेका छन् ।

जग्गादाता स्व. डोमालाल राजबंशीका पत्नी र दुई छोरा गजेन्द्र राजबंशी र दिपेन्द्र राजबंशीको मृत्यु भइसकेको छ । हाल डोमालालकी एक छोरी ८५ वर्षीया सम्पता राजबंशी र दुई जना नाति भीम राजबंशी र छवी राजबंशी दान दिएकै जग्गामा कच्ची छाप्रो बनाएर आश्रय लिइरहनु भएको छ ।

दाता परिवारले सुकुम्बासी जीवन बिताइरहेको घटनाबाट भावुक बनेका झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतले ११४ औं नारी दिवसको अवसर पारेर घर बनाइदिने अभियानको घोषणा गर्नु भएको हो । उहाँले दाता परिवारको घर निर्माणका लागि रु. ५१ हजार दिने घोषणा गर्दै थप रकम जुटाउन आर्थिक सहयोगको अपिल गर्नुभयो । 

अभियानको घोषणा भएकै दिन रु. सात लाख आर्थिक सहयोगको प्रतिवद्धता आएको बस्नेतले जानकारी दिनुभयो । रु. १० लाख सहयोग जुटाएर स्व. डोमालाल राजबंशीकी छोरी सम्पता राजबंशीको घर निर्माण गरिने उहाँले बताउनुभयो ।

“सार्वजनिक हितका लागि १४ बिगाहा जग्गा दान दिनुहुने दानवीर डोमालाल राजबंशीको सन्तान घरबारविहीन भएको अमिलो दृश्यले हामी सबैको मन भत्भती पोलिरहेको थियो,” अभियानको नेतृत्व गरिरहनु भएको बस्नेतले भन्नुभयो–“उहाँहरुका लागि केही त गर्नै पर्दछ भन्ने लाग्यो र घर निर्माण गरिदिने अभियान सुरु गरेका हौं ।”

ठेलाले गुजारा चलाउँछन् नाति


बिर्तामोड–३ का भीम राजबंशी र छवी राजबंशी आफ्ना हजुरबुवा डोमालालले दान दिएको जग्गाको एउटा कुनोमा अलग अलग झुपडी हालेर परिवारसँग बसोबास गर्दै आउनु भएको छ । 

डोमालालकी छोरी सम्पता राजबंशीको पनि त्यहीँनेर अर्को छाप्रो छ । छाप्रोमा एक्लै बस्दै आउनु भएकी ८५ वर्षीया सम्पताको जीविकाको माध्यम सरकारले दिने वृद्धाभत्ता मात्रै हो । “केही वर्ष अघिसम्म उहाँ बजारमा सागसब्जी व्यापार गरेर पेटपालन गर्नुहुन्थ्यो,” स्थानीय प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजबंशी भन्नुहुन्छ–“बुढेशकालले च्याप्दै लगेपछि व्यापार छाड्नुभयो ।”

उहाँका अनुसार दानवीर डोमालालका नाति छवी राजबंशीले बिर्ताबजारमा तीनचक्के ठेला चलाएर परिवारको जीविका धान्दै आउनु भएको छ । अर्का नाति भीम स्थानीय फ्याक्ट्रीमा मजदूरी गर्नुहुन्छ ।

डोमालालकी छोरी सम्पता र दुई नातिले झुपडी बनाएर ओगटेको जग्गा ३ कठ्ठा जति छ । उहाँहरुको नाममा कुनै जग्गा छैन । दान दिएकै जग्गामा सम्पता राजबंशीका लागि आर्थिक सहयोग जुटाएर घर बनाउने खेलप्रेमीहरुको योजना छ ।

सहयोगी हातहरु बढ्दै

सुकुम्बासी बनेका दाता परिवारलाई घर बनाउने अभियानमा सहयोगी हातहरु बढ्दै गएका छन् । दुई दिनमा रु. सात लाख सहयोगको प्रतिवद्धता जुटिसकेको छ ।

युवा व्यवसायी राजीव तेघ्रे धिमाल र अर्जुन चुडालले रु. एक/एक लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । विर्तामोडका व्यवसायीहरु किरण श्रेष्ठ, सुधार कुमार, रबिन श्रेष्ठ र समिल राईले रु. २५/२५ हजार सहयोगको घोषणा गर्नु भएको छ । पत्रकारहरु गणेशमान मुखिया, इन्द्रजित मुखिया र भूमिका सुब्बाले रु. ११/११ हजार सहयोग दिने बताउनुभएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।