१५ वैशाख २०८१, शनिवार

रोकियो झापाको फाइनल यात्रा, चर्च ब्वाइज बिजयी

२६ फागुन २०८०, शनिवार
Image

बिर्तामोड, २६  फागुन । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ ।

पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक गोल गर्दै टोलीलाई फाइलनमा पुर्याएका हुन् । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदिप लिम्बूले बचाए ।  

झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईंले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो ।  विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाएका हुन् ।

यसअघि १४ मिनेटको अतिरिक्त समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो । पहिलो सात मिनेटमा फाकुन्लेको प्रहार झापाका रक्षकलाई लागेर फर्कियो । अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्वाइजको संकट टारेका थिए ।

चर्च ब्वाइजका फकुन्लेले गोलकिपर सुदिप लिम्बूलाई बिट गरेर प्रहार गरेको चिप रक्षक पेमा तामाङले क्लियर गरेका हुन् ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । घरेलु टोली झापाको तुलानामा चर्च ब्वाइज बलियो देखिएको थियो । उसले बल पकड राख्दै दबाब बनाए पनि फाइनल थर्डमा चुकेको हो ।

पहिलो हाफमा भने दुवै टोली फिक्का रहे । खासै गतिलो अवसर बनाउन सकेनन् । खेलको ५१औँ मिनेटमा चर्चका अबायोमी अलुवासेउन फकुन्लेले हानेको शक्तिशाली प्रहार गोलकिपर सुदिप लिम्बूले बचाए । ५३औँ मिनेटमा सुरज जिउ ठकुरीेले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपर सुदिपले पन्च गरेर बाहिर फ्यालेको हुन् ।

६३औँ मिनेटमा सुरजको पासमा विजय भुजेल बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन् । एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका फाकुन्लेको प्रहार गोलकिपर सुदिपले उत्कृष्ट बचाउ गरे । निरज चौधरीले दिएको बल फाकुन्लेले बक्सभित्रबाट प्रहार गरे पनि सफल भएनन् ।  

झापाले भने केही मात्र राम्रा अवसर बनाउन सक्यो । खेलको २६औँ मिनेटमा आशिष चापागाईंले हानेको प्रहार गोलकिपर दीप कार्कीले बचाए । ६२औँ मिनेटमा कप्तान पेमा तामाङले बनाएको सुन्दर अवसरमा झापा गोल गर्न चुक्यो ।

सोही अवसरमा आशिष चापागाईंले मिलाएको सुन्दर पासमा विदेशी खेलाडी मार्क जुनियर ह्यारिसन गोल गर्न चुक्दा घरेलु समर्थक स्तब्ध बनेका थिए ।

फाइनल खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार भएको पहिलो सेमिफाइलनमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गरेको थियो । फाइनलमा प्रवेश गरेसँगै दुवै टोलीले कम्तिमा सात लाख पक्का गरेका छन् ।

फागुन १९ बाट सुरु भएको प्रतियोगिताको विजेताले १३ लाख तथा उपविजेताले सात लाख रुपैँया प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसअघि भएको पाँचमध्ये चार संस्करण आर्मी र एक संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । मनाङले पहिलो संस्करण जित्दा त्यसयता आर्मी च्याम्पियन हुँदै आएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सोझै १४ जना र ११ जना खेल्नुपरेकाले जित निकाल्न नसकेको आरोप लगाए । ‘हार जित त हुन्छ तर रेफ्रीले निष्पक्ष खेल खेलाउन सकेनन्’, उनले भने ।

फाइनल प्रवेशका लागि आफ्नो टिमले आशातित खेल प्रदर्शन गरेको भन्दै उनले खेलाडीले आफ्नो पोजिसनमै खेलेको बताए ।

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले खेल सोचेभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिए । ए डिभिजन लिगपछिको नयाँ टिम रहे पनि प्रदर्शन सम्झनलायक भएको उनले सुनाए । नयाँ खेलाडी नथप्ने बताउँदै उनले एपिएफसँगको भेट रोचक बन्ने बताएका छन् ।