१६ वैशाख २०८१, आइतवार

‘मरिन्छ कि बाँचिन्छ थाहा छैन, के को मिसन चौरासी ?’ ः महामन्त्री शर्मा

२९ फागुन २०८०, मङ्गलवार
Image

धुलाबारी, २९ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘मिसन ८४’ अर्थहीन र भावनाको लहड मात्रै भएको बताउनु भएको छ । 

धुलावारी खानेपानी तथा उपभोक्ता समितिको सोमवार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले चुनाव जित्ने र हार्ने कुरा मात्र सबथोक नभएको बताउनुभयो ।

‘मैले निराशाजनक कुरा गरेको होइन,’ उहाँले भन्नुभयो–‘तर ८४ सालसम्म मरिन्छ कि बाँचिन्छ थाहा छैन ।’ महामन्त्री शर्माले नेपाली समाज व्यापक निराशामा फसेको जिकिर गर्दै साझा मञ्चमा उभिएर जनताको निराशा हटाउन सक्नु चाँहि नेताहरुको अहिलेको कार्यभार भएको बताउनुभयो । 

खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद् गोपाल तामाङ, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी, नेपाली कांग्रेसका पूर्व उपसभापति राम कट्टेल, खानेपानी डिभिजनका प्रदेश प्रमुख सुरजलाल चौधरी, नेपाली कांग्रेसकी नेतृ दुर्गा खतिवडा र पत्रकार चन्द्र भण्डारीले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

वि.सं. २०५२ सालमा रु. ४५ करोडको लागतमा स्थापना भएको धुलाबारी खानेपानी परियोजनाबाट मेचीनगरको वडा नं. ९,१०, ११, १२, १४ र १५ का हाल छ हजार सात वटा धाराबाट शुद्ध पिउने पानी वितरण भइरहेको छ ।

समितिका अध्यक्ष खत्रीले यसैवर्षदेखि समितिका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको बताउनु भएको छ । यसबाट कर्मचारीले पेन्सन सुविधा समेत पाउने भएका छन् ।