१६ वैशाख २०८१, आइतवार

झापाकी सुमित्रा भण्डारी मधेशको प्रदेश प्रमुख सिफारिस

२९ फागुन २०८०, मङ्गलवार
Image

झापा, २९ फागुन । दमककी एमाले नेतृ सुमित्रा भण्डारी मधेश प्रदेश प्रमुख पदमा सिफारिस हुनु भएको छ ।

सरकारले मधेससहित  तीनवटा प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गर्ने निर्णय गरेको हो । सत्ता समीकरण बदलिएसँगै सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएको हो ।

केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्न प्रदेश प्रमुखलाई हटाइएको सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो । 

‘राजनीतिक रुपमा सहज होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भनेर प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ सिफारिस गर्ने निर्णय गरिएको हो,’–‘सञ्चारमन्त्री शर्माले भन्नुभयो ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले पदमुक्त गरेका प्रदेश प्रमुखहरू अघिल्लो गठबन्धनबाट कांग्रेसको कोटाबाट नियुक्त भएकाहरु छन् । 

अहिले पदमुक्त हुनेमा कांग्रेस कोटाबाट २०७८ सालको १२ साउनमा नियुक्त भएका गण्डकीका पृथ्वीमान सिंह गुरुङ, १ भदौमा नियुक्त भएका मधेशका हरिशंकर मिश्र र २३ कात्तिकमा नियुक्त भएका सुदूरपश्चिमका देवराज जोशी छन् ।

नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस भएका तीनै जना एमाले निकट छन् । मन्त्रिपरिषद्को सोमबारकै बैठकले नयाँ प्रदेश प्रमुखमा गण्डकीमा डिल्लीराज भट्ट, मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियाँलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

झापाकी भण्डारी यसअघि एमाले सरकारमा छँदा डेनमार्कका लागि राजदूत सिफारिस हुनु भएको थियो । नियुक्ति हुनैलाग्दा एमाले सरकारबाट बाहिरिएपछि उहाँको नियुक्ति निष्क्रिय भएको थियो ।