१८ वैशाख २०८१, मङ्गलवार

लागू औषधको कुलतले निम्त्याउँदैछ अपराध

३ चैत २०८०, शनिवार
Image

झापा, ३ चैत  लागू औषधको कुलतमा फँसेका युवाका कारण पछिल्लो समय अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा घरकै नाति पक्राउ परे ।

प्रहरीका अनुसार फागुन २५ गते राति गाँजा खाएर लठ्ठ परेका १७ वर्षीय धिरज विश्वकर्माले लागूऔषध किन्न पैसा नदिएको निहुँमा ८२ वर्षीया हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेका थिए । फलामे रडले हिर्काएर हजुरआमाको हत्या गरेपछि साथी लगाएर घरको ग्वालीमा शब गाडेको पाइएको प्रहरीले जनाएको छ । हाल नातिसहित चार जना अभियुक्त पक्राउ परिसकेका छन् ।

झापामा लागू औषधका सेवनकर्ता र कारोवारीको संख्या बढेसँगै अपराधका घटनामा उनीहरुको संलग्नता पाइन थालेको हो । लागू औषध किन्न आवश्यक पर्ने नगदका लागि उनीहरु चोरी र लुटपाटमा लाग्ने गरेका छन् । धेरैजसो घटनामा घर परिवार नै पीडित हुने गरेका कारण घटना बाहिर आउँदैन ।

गत महिना प्रहरीले मेचीनगर–१५ मा एक दूव्र्यसनी युवाले चरेस किन्न नेपालबाट चोरी गरेको महँगो मोबाइल फोनको सेट भारतको खोरीबारीबाट फिर्ता ल्याएको थियो । चोरीको घटनामा आफन्त नै संलग्न भएकाले पीडितले मोवाइल फिर्ता पाएपछि अभियुक्तलाई कार्वाही गराउनेतर्फ पहल गरेनन् ।

पछिल्लो समय झापामा सुनका गहना, मोटरसाइकल र धातुका भाडावर्तन चोरीका घटना बाक्लै भएका छन् । प्रहरीले ती घटनामा लागू औषधका दूव्र्यसनीहरु नै संलग्न भएको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ । मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख चिन्तामणि दाहालको घरबाट गत महिना १० तोलाभन्दा बढी सुनका गहना चोरी भएको थियो भने मेचीनगर–१० खयरडाँगीका हरि लिम्बुको घरबाट दिउँसै सुनका गरगहना चोरी भएको थियो ।

“लागू औषध सेवन गर्ने दुव्र्यसनीहरुले घरको मालसामान बेच्ने मात्र होइन बाहिर जहाँसुकै पनि चोरी गर्न सक्छन्,” जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरी भन्नुहुन्छ–“जसरी पनि खानै पर्ने अवस्था भएकाले लागू औषध किन्नका लागि पैसा जुटाउने मौका हेरिरहेका हुन्छन् । कतिपय अवस्थामा हत्याका घटना समेत हुने गरेका छन् ।”

कुलतमा फँस्दै नवयुवा

कुलतमा फँसेका १६ देखि २५ वर्ष उमेर समूहका नवयुवाको संख्या आधा रहेको तथ्यांकले देखाएको छ । जसमा विद्यालय पढ्दै गरेका कलिला युवाको संलग्नता धेरै छ । 

आर्थिक वर्ष २०८०÷०८१ को चालू आठ महिनामा लागू औषधको कारोवारमा संलग्न भएको आरोपमा २६५ जना व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जसमा १६ देखि २५ वर्ष उमेर समूहका १२० जना रहेका छन् ।

प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सोही अवधिमा लागू औषधको १७४ वटा मुद्धा दर्ता भएका छन् । जसमा २०१ जना सेवनकर्ता छन् । पक्राउ परेकाहरुमा १५ जना भारतीय नागरिक छन् ।

पछिल्लो समय प्रहरीले पूर्वीनाका काँकडभिट्टा र पूर्वपश्चिम राजमार्गमा नियन्त्रण अभियानलाई केन्द्रित गर्दै निगरानी बढाएको उहाँले बताउनुभयो । नाकामा तैनाथ सुरक्षाकर्मीको आँखा छलेर भित्रिएका लागू औषध राजमार्गका विभिन्न चेकप्वाइन्टहरुमा बरामद हुने गरेका छन् ।

सीमावर्ती भारतीय बजार पानीटंकीमा खुलेआम लागू पदार्थको कारोवार हुने गरेको छ । जानकारहरुका अनुसार भारतीय बजारमा गाँजा, चरेस लगायतका लागू पदार्थको विक्रीवितरण नेपाली ग्राहक लक्षित हुने गरेको छ । भद्रपुर, गौरीगञ्ज, केचना र बाहुनडाँगीबाट लुकाईछिपाई ओसारपसार हुने गरेको कारण प्रहरीले ती नाकामा पनि निगरानीलाई कसिलो बनाउने गरेको छ ।

कारोवारीहरुले पूर्वीनाकाबाट भित्रिएको लागू पदार्थ कोशी प्रदेशको विभिन्न पहाडी जिल्लादेखि राजधानी काठमाडौंसम्म पुर्याउने गरेका छन् । एक दशकयता सुईको माध्यमबाट प्रयोग हुने डाइजिपाम, फेनारगन, लुपेजेसिक जस्ता लागूऔषधको प्रयोग घट्दै र ब्राउनसुगर, गाँजा, चरेस लगायतका बस्तुको प्रयोग बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् ।

झापामा भारतसँगको १४४ किलोमिटर खुला सीमा लागू औषध कारोवार नियन्त्रणको चुनौति बनेको छ । पूर्वमा भारतको पश्चिम बंगाल र दक्षिणमा विहार प्रान्त रहेको छ । 

जिल्ला प्रहरी कार्यालयले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ । स्थानीय समुदाय र विद्यार्थीलाई अभियानमा जोड्ने गरिएको छ ।–––