२० वैशाख २०८१, बिहिवार

मकै खान आउने हात्तीले बढायो जनधनको क्षति

३ वैशाख २०८१, सोमवार
Image

झापा, ३ बैशाख । मकै खेतीसँगै हात्ती जंगलबाट गाउँ पस्ने समस्या बढ्ने गरेको पाइएको छ । हात्ती नियन्त्रणका लागि बाली परिवर्तन गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

सरकारले मकै खेतीको प्रवद्र्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेको छ । जसका कारण गाउँ गाउँमा पहिलेको तुलनामा ज्यादा मकै खेती हुन थालेको छ । 

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएको बताउनुभयो । मकै खान गाउँ र खेतमा हात्ती पस्दा मानवीय जनधनको क्षति हुने गरेको उहाँले स्वीकार गर्नुभयो । 

उहाँले विगत पाँच बर्ष यता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यवसायिक खेती गरिरहेको बताउनुभयो । 

“जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “मकै हात्तीको मनपर्ने खाना हो । जति यसको खेती बढ्यो उति हात्तीको संख्या र क्षति बढिरहेको हाम्रो अनुसन्धानले देखाएको छ ।” उहाँले सो बारेमा सरकारको ध्यानाकर्षण समेत गरिसकेको बताउनुभयो । 

जिल्लामा बढिरहेको हात्ती समस्या न्यूनीकरणका लागि बाली परिवर्तन अनिवार्य देखिएको उहाँले बताउनुभयो । उहाँले विगतमा पनि मकै खेतीकै कारण बैशाख पहिलो सातादेखि असारको तेस्रो हप्तासम्म जिल्लामा भारतबाट आउने जंगली हात्ती समेत थपिएर जनधनको क्षति बढ्ने गरेको जानकारी दिनुभयो । उहाँले जिल्लामा ३० वटा भन्दा बढी रैथाने हात्ती रहेको बताउनुभयो ।

प्रमुख राईले हाल दैनिक राहतका लागि सातदेखि आठवटा निवेदन लिएर कार्यालयमा हात्ती पीडित किसानहरु आउने गरेको बताउनुभयो । उहाँले वि.स. २०८० असार ८ गतेदेखि हालसम्म जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छ जना, घर र बालीनालीमा क्षति पुर्याएको ५३३ र सख्त घाइते समेतको गरी रु. एक करोड ३० लाखभन्दा बढी रकम जिल्लामा राहत स्वरुप बाँड्न बाँकी रहेको जानकारी दिनुभयो ।

यसैगरी बुद्धशान्ति गाउँपालिकाका किसानहरु जंगली हात्तीले दैनिक जसो पुर्याउने क्षतिबारे राज्य बेखर बनेको भन्दै आक्रोशित बनेका छन् । 

स्थानीय सीताराम बास्तोलाले सरकारले हात्ती न्यूनीकरणमा देखाएको उदासिनताका कारण आफूहरु मारमा परेको बताउनुभयो । उहाँले सो पालिकामा मात्र दैनिक जसो साँझ परेपछि आउने जंगली हात्तीले १० विगाह भन्दा बढी क्षेत्रको मकै खेती खाएर र कुल्चेर नष्ट गरेको बताउनुभयो । 

स्थानीय आदर्श सामुदायिक वनमा बस्ने हात्तीले साँझ परेपछि गाउँवस्तीमा पसेर बालीनाली नष्ट गर्ने गरेको उहाँको गुनासो छ । उहाँले मकै खान आएको हात्तीलाई लेख्टन खोज्यो भने उल्टै मानिसलाई नै आक्रमण गर्न आउने गरेको बताउनुभयो । “हात्ती थेत्तरो भइसकेछ”, उहाँले भन्नुभयो,“पहिला पहिला त हो होल्ला गर्दा भाग्थ्यो । अहिले त उल्टै हामीलाई नै आक्रमण गर्न फर्कन्छ ।”

उहाँले सरकारले हात्ती प्रभावित क्षेत्रमा साइसनसहितको गाडीले गस्ती गर्ने हो भने पनि स्थानीयलाई राहत हुने बताउनुभयो । उहाँले समस्या बारे पटकपटक स्थानीय सरकार र डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदा समेत अटेर गरेका कारण हात्ती पीडित मिलेर आन्दोलन गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तपूर्वकको मागलाई कसैले सुन्दोरहेनछ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आन्दोलन नै रोज्नुपर्ने परिस्थितिको सिर्जना भइसक्यो ।”

फोटो : अर्जुन राजबंशी

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।