१९ वैशाख २०८१, बुधवार

प्रथम राष्ट्रपतिद्वारा ‘पत्रकार उपचार कोष’का दाताहरु सम्मानित

३ वैशाख २०८१, सोमवार
Image

झापा, ३ वैशाख । प्रथम राष्ट्रपति डा. रामवरण यादवको विशिष्ट उपस्थितिमा नेपाल पत्रकार महासंघ झापाको ‘पत्रकार उपचार कोष’का दाताहरुलाई सम्मान गरिएको छ ।

महासंघको झापा शाखाले स्थापना गरेको ‘पत्रकार उपचार कोष’मा रु. एक करोड एक लाख एघार हजार एक सय एघार रुपैयाँ संकलन भएको घोषणा गर्न आज विर्तामोडमा आयोजित कार्यक्रममा प्रथम राष्ट्रपति यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको हो ।

प्रथम राष्ट्रपति यादवले अक्षयकोषलाई सर्वाधिक सहयोग गर्नेहरुमा संस्थागततर्फ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने र व्यक्तिगततर्फ शिक्षासेवी जयनारायण ढुंगानालाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा कोषमा उल्लेख्य सहयोग पुर्याएवापत पूर्वमुख्यमन्त्रीद्वय हिक्मतकुमार कार्की र उद्धव थापालाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । दर्जनौं दाताहरु उक्त अवसरमा सम्मानित भएका थिए ।

प्रथम राष्ट्रपति यादवले नेपाल पत्रकार महासंघ झापाको स्तरोन्नति गरिएको भवनको तलाको समेत डिजिटल समुद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकार उपचार कोषमा करोड रुपैयाँ पुगेको घोषणा गर्दै त्यसका दाताहरुलाई संस्थापकको सम्मान दिइएको जानकारी गराउनु भएको थियो । कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ ।

महासंघका सचिव डिकेश लामाले स्वागत र उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि यादव, मुख्यमन्त्रीद्वय कार्की र थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरी र महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारीले मन्तब्य ब्यक्त गर्दै पत्रकार उपचार कोषको स्थापना महत्वपूर्ण कार्य भएको चर्चा गर्नु भएको थियो ।

वि.सं. २०७३ सालमा महासंघका तत्कालीन झापा अध्यक्ष भीम नेम्बाङको नेतृत्वमा पत्रकार उपचार कोषको स्थापना भएको थियो । 

सहारा नेपालका कार्यकारी प्रमुख गिरीले ‘खुद्रा कामका लागि सहयोग माग्नुको साटो ठोस योजनाका साथ आउन’ भन्दै पत्रकार उपचार कोषमा पहिलो संस्थागत सहयोगस्वरुप रु.पाँच लाख प्रदान गरेपछि कोषको अवधारणा अघि बढेको कार्यक्रममा जानकारी गराइएको थियो । 

सहाराले पहिलो सहयोग गरेका कारण कोषको नाममा सहारा जोडेर ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको हो । पटकपटक गरेर सहारा नेपालले कोषका लागि एक्लै १५ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना, कोशी प्रदेशका मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लभ घिमिरे लगायतको उपस्थिति रहेको थियो ।