१८ वैशाख २०८१, मङ्गलवार

पर्यटकीय गन्तव्य बनाउन गौरादह पोखरीको निर्माण

४ वैशाख २०८१, मङ्गलवार
Image

झापा, ४ वैशाख । गौरादह नगरपालिका– १ मा रहेको ऐतिहासिक ‘गौरादह पोखरी’लाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले सरसफाइसहित निर्माण सुरु भएको छ । यसको निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

नगरकै पहिचान बोकेको १२ बिघा पाँच कठ्ठा क्षेत्रफलमा रहेका चार वटा प्राकृतिक पोखरीलाई संरक्षण र सम्बद्र्धन गर्दैै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण सुरु गरिएको वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

नगरपालिकाले रु १९ लाख खर्चेर एकै स्थानमा रहेका चारवटा पोखरी निर्माणको गुरुयोजना तयार गरेको थियो । सोही आधारमा प्रदेश सरकारले विनियोजन गरेको रु चार करोड बजेटबाट पहिलो चरणको निर्माण सुरु भएको उहाँले बताउनुभयो ।

 उहाँका अनुसार चार वटा पोखरीलाई १३ फिट अग्ला दुई वटा पोखरी बनाइनेछ । पहिलो चरणमा पोखरीको सतह मिलाउने, पोखरीको वरिपरि ३३ फिट १० मिटर चौडाइको कच्ची बाटो निर्माण र ढुङ्गाको जाली लगाइने उहाँले बताउनुभयो । पोखरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि संविधानसभा सदस्य दीपक कार्कीको संयोजकत्वमा ऐतिहासिक पोखरी संरक्षण एवं पर्यटकीयस्थल निर्माण समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

पाँच वर्षअघि तत्काल निर्माण गर्ने गरी पोखरीको पालिकाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । विसं २०७५ मा डिपीआर तयार गरेको पोखरीको पहिलोचणको निर्माण प्रदेश सरकारको मूल्य अभिवृद्धि कर ९भ्याट०सहित रु तीन करोड छ लाखमा सम्झौता गरी डिजे निर्माण सेवाले काम सुरु गरेको छ । 

“पोखरीको निर्माण अब रोकिँदैन”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हाम्रो नगरकै गौरवको योजनाभित्र यो प्राकृतिक पोखरी पर्छ । यसको निर्माण सम्पन्न गर्न करिब रु २० करोड लाग्ने अनुमान छ । प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।”

पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्रामस्थलसहितको फूलबारी निर्माण गर्ने, बोटिङ गर्ने, चिल्ड्रेन पार्क, जातीय सङ्ग्रहालयलगायतका संरचना तयारी गर्ने गरी गुरुयोजना तयार गरिएको उहाँको भनाइ छ । यसअघि पोखरीको जग्गा अतिक्रमण हुनबाट जोगाउन तीन चरणमा घेराबारा गर्ने काम गरिएको थियो ।