१८ वैशाख २०८१, मङ्गलवार

सभामुख घिमिरेद्वारा उद्योग र कृषि परियोजनाको निरीक्षण

५ वैशाख २०८१, बुधवार
Image

झापा, ५ वैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेयपदार्थ उत्पादन गरी विदेशमा निर्यात गर्दै आएको झापास्थित सिंगापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नु भएको छ ।

मेचीनगर–१४ दुहागढीस्थित प्रालिको कारखानामा उहाँले हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारेमा जानकारी लिनुभयो ।

सन् २०१६ मा स्थापना भएको प्रालिले उत्पादन गरेका जिरु, निम्बुपानी लगायतका ब्रान्डले कोकाकोला जस्ता बहुराष्ट्रिय कम्पनीबाट उत्पादित ब्रान्डहरुसँग बजारमा प्रतिष्पर्धा गरिरहेको प्रालिका प्रबन्ध निर्देशक आशिष शर्माले सभामुख घिमिरेलाई अवगत गराउनु भयो ।


सभामुख घिमिरेले उद्योगले आफ्ना उत्पादनहरु विदेशमा निर्यात गरिरहेको विषयमा जिज्ञासा राख्नु भएको थियो । उद्योगले झेलिरहेका समस्या, राज्यले गर्नुपर्ने सहयोग र कानूनी व्यवस्थाको बारेमा उहाँले चासो व्यक्त गर्नु भएको प्रबन्ध निर्देशक शर्माले बताउनुभयो ।

नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिवेशनमा सिंगापुर बेभरेजका प्रबन्ध निर्देशक शर्मालाई उत्कृष्ट युवा प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । हलुका पेय पदार्थको उद्योग खोलेर सयौंलाई रोजगारी दिएको र उत्पादनहरु विदेशमा निर्यात गरिरहेका शर्मालाई जेसीजको कार्यक्रममा सम्मानित गरिएपछि उद्योगको निरीक्षण गर्ने सोच बनाएको सभामुख घिमिरेले बताउनुभयो ।

उहाँले पहाडको लहरे आँप, तराईको आँप, अनारस, खजुरबुजा लगायतका स्वदेशमै उत्पादन हुने फलफूलको रसलाई कच्चा पदार्थको रुपमा प्रयोग बढाउन सुझाव दिनुभयो । चर्को प्रतिष्पर्धाको आजको युगमा नेपाली उत्पादनले विश्व बजारमा लोकप्रियता हासिल गर्नु गर्वको विषय भएको उहाँले बताउनुभयो ।

दुबईबाट बिजनेस मार्केटिङमा स्नातकोत्तर र फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट इन्टरनेसनल बिजनेस एन्ड मार्केटिङमा मानार्थ विद्यावारिधि उपाधिप्राप्त ३२ वर्षीय प्रबन्ध निर्देशक शर्माले छोटो अवधिमै उद्योगका उत्पादनलाई यूरोप र अमेरिका लगायत विभिन्न ३५ मुलुकमा पुर्याउन सफलता प्राप्त भएको बताउनु भएको छ ।

उद्योगले जर्मनी मेसिनबाट विश्वस्तरीय पेय पदार्थका विभिन्न ब्रान्डहरु उत्पादन गरिरहेको जानकारी दिदै जिरा मसलाको स्वाद रहेको जिरु हाल भारत, अस्टे«लिया र अमेरिकामा लोकप्रिय रहेको उहाँको भनाई छ ।

कृषि परियोजनाको अवलोकन

सभामुख घिमिरेले आजै मेचीनगरको एनएमसी नमुना कृषि परियोजनाको अवलोकन गर्नुभयो । मेचीनगर–१४ मा १६ बिगाहा जग्गामा फैलिएको उक्त परियोजनामा झापाकै ठूलो गाई फार्म सञ्चालित छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले वि.सं. २०७५ देखि उक्त कृषि परियोजना सञ्चालन गर्दै आएको छ । परियोजनामा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवा, साइलेज र तरकारी उत्पादन हुँदै आएको छ । 

परियोजनामा रु. २३ करोड लगानी भइसकेको, ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको र एक सय वटा उन्नत होलेस्टाइन जातका गाईपालन भइरहेको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले सभामुख घिमिरेलाई जानकारी गराउनुभयो ।

परियोजनामा पालिएका ४५ वटा गाईले हाल दुध दिइरहेको र गाईले ४० लिटरसम्म दुध दिने गरेको उहाँले बताउनुभयो । परियोजनामा माछापालन, मौरीपालन र तरकारी खेती समेत भइरहेको छ । 

गाईको पोषिलो आहार मानिएको बेल साइलेज समेत आफैले उत्पादन गर्दै आएको परियोजनाका संयोजक हिरा पोखरेलले बताउनुभयो । उहाँले किसानबाट घोगासँगै खरिद गरिएको मकैबाट साइलेज आहार बनाउने गरिएको जानकारी दिनुभयो ।