२५ वैशाख २०८१, मङ्गलवार

खुला व्यायामशालामा झुम्मिए सर्वसाधारण

१४ वैशाख २०८१, शुक्रवार
Image

झापा, १४ बैशाख । स्वस्थ जीवन प्रवर्धनका लागि सार्वजनिक स्थलमा स्थापना भएका खुला व्यायामशालाप्रति झापामा सर्वसाधारणको आकर्षण देखिएको छ ।

थोरै लागतमा निर्माण हुने खुला व्यायामशालाको स्थापना गर्न स्थानीय पालिकाहरुले बजेट लगानी गरेका छन् भने शारीरिक अभ्यासका लागि बालवालिकादेखि वृद्धवृद्धासम्म झुम्मिने गरेका छन् । 

मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्य हरेक विहान ‘मर्निङ वाक’का लागि मेचीनगर–१० स्थित निन्दा करिडर जानुहुन्छ । करिडरमा स्थानीय वडाले हालै निर्माण गरिदिएको आधुनिक व्यायामशाला छ, जहाँ उहाँ दैनिक एक घण्टा बिताउनुहुन्छ ।

“सबैले घरमा व्यायामका महँगा आधुनिक उपकरण किनेर राख्न सम्भव छैन,” शाक्यले भन्नुभयो–“सरकारले नै पायक पर्ने स्थानमा यस्ता खुला व्यायामशाला खोलिदिने हो भने आम नागरिक लाभान्वित हुन्छन् ।” पहिले राजमार्गमा ‘मर्निङ वाक’ हिँड्ने गरेकोमा खुला व्यायामशाला निर्माण भएपछि निन्दा करिडर नै धाउने गरेको उहाँले जानकारी दिनुभयो ।

मेचीनगर–१० को वडा कार्यालयले चालू बजेटबाट रु. तीन लाख ४५ हजार ७४० दिएपछि रमणीय स्थान चयन गरेर खुला व्यायामशाला निर्माण गरिएको निन्दा करिडर प्रबर्धन समितिका अध्यक्ष धर्मेन्द्र खड्काले बताउनुभयो ।

“पाँच दशक अघि निन्दा नदीको किनारमा निर्मित तटबाँध क्षेत्रलाई सरसफाई, वृक्षारोपण र सौन्दर्यकरण गरेर निन्दा करिडरको रुपमा विकास गरेका छौं,” अध्यक्ष खड्काले भन्नुभयो–“मर्निङ वाकका लागि मानिसहरु आउन थालेपछि हामीले यहाँ खुला व्यायामशाला निर्माण गर्ने सोच बनायौं । हाम्रो प्रस्ताव राम्रो लागेपछि वडा कार्यालयले बजेट दियो ।”

निन्दा करिडरमा विहान ५ बजेदेखि ९ बजेसम्ममा मर्निङ वाकमा आउने दैनिक एक सयभन्दा बढी सर्वसाधारणले खुला व्यायामशालाको फाइदा लिइरहेको उहाँले बताउनुभयो । निःशुल्क सेवा भएकाले विपन्न एवम् श्रमिक वर्गका मानिस समेत शारीरिक अध्यासका लागि खुला व्यायामशालामा आउने गरेका छन् । 

कनकाई नगरपालिकाले वडा नं. ३ स्थित सुरुंगा बजारमा तीन वर्ष अघि नै खुला व्यायामशाला निर्माण गरेको थियो । राजमार्गको बसस्टेन्ड छेउमा निर्मित उद्यानमै व्यायामशाला गरिएको हो । 

‘स्वस्थ जीवन प्रवर्धन’ कार्यक्रम अन्तर्गत कनकाई नगरपालिकाले प्रदेश सरकारको रु. १२ लाखमा आन्तरिक स्रोतबाट रु. ४५ लाख थपेर रु. ५७ लाखको लागतमा खुला व्यायामशाला र बाल उद्यान निर्माण गरेको हो ।

उक्त व्यायामशालामा १२ वटा आधुनिक उपकरण राखिएको छ । व्यायामशालाको उपयोग गर्नेले कुनै शुल्क तिर्नु पर्दैन । 

“नगरबासीलाई स्वस्थ रहन प्रोत्साहित गर्नका लागि आफ्नै लगानीमा निःशुल्क व्यायामशाला सञ्चालनमा ल्याएका हौं,” कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले भन्नुभयो–“निजी उपकरण राख्न धेरै खर्च लाग्छ । व्याबसायिक जिम हाउसमा जाँदा पनि शुल्क तिर्नुपर्छ । नगरबासीको आरोग्यताका लागि सुविधा उपलब्ध गराउनुलाई जिम्मेवारी ठानेर खुला व्यायामशाला निर्माण गरिएको हो ।” 

व्यायामशाला निर्माणका लागि कनकाई सामुदायिक वनले चार कठ्ठा जग्गा उपलब्ध गराएको छ । सो जग्गामा व्यायामशालासँगै बाल उद्यान र सुरुंगाको कलात्मक प्रतिक पनि राखिएको छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले रोग लागेर उपचारका लागि महँगो खर्च गर्नुभन्दा रोग लाग्नै नदिने उपायको खोजीतर्फ लाग्नु पर्ने भएकाले नियमित व्यायामका लागि स्थानीय सरकार लगानी बढाउन तयार रहेको बताउनुभयो ।

झापामा स्थानीय तहले व्यायामशालामा लगानी बढाउन थालेका छन् । मेचीनगर, कनकाई, भद्रपुर र हल्दिबारीले आफ्नै लगानीमा निःशुल्क व्यायामशाला सञ्चालनमा ल्याइसकेका छन् ।

खानपान र जीवनशैलीमा आएको परिवर्तनले मानिसहरुमा विभिन्न प्रकारका रोगले च्याप्ने गरेको छ । रोग लागिसकेपछि उपचारका लागि कैयनले घरखेत बेच्नु परेको पनि छ । यस्तो अवस्थामा सरकारी लगानीमा निःशुल्क व्यायामशाला खुल्नु प्रशंसायोग्य कार्य भएको छ ।

बुद्धशान्ति–३ मा आदर्श सामुदायिक वन उपभोक्ता समितिले र हल्दिबारी–५ को शान्ति आधारभूत विद्यालयमा हल्दिबारी गाउँपालिकाले खुला व्यायामशाला निर्माण गरेका छन् ।

ती व्यायामशालालाई मर्निङ वाकमा हिँड्नेले नियमित गन्तब्य बनाउने गरेका छन् । घुमघामका लागि आउने आन्तरिक पर्यटक पनि मनोञ्जनसँगै स्वास्थ्यका लागि व्यायामशालामा आकर्षित हुने गरेका छन् । 

हल्दिवारी गाउँपालिकाले ‘गाउँवासीको स्वस्थ जीवन प्रवर्धन अभियान’ अन्तर्गत खुला व्यायामशाला सञ्चालनमा ल्याएको जनाएको छ । खुला व्यायामशालाको प्रयोगमा महिलाको ठूलो संख्या आकिर्षत भएको पाइएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले आन्तरिक स्रोतबाट रु. १५ लाख, र जनसहभागिताबाट रु. तीन लाख ६५ हजार गरी रु. १८ लाख २८ हजार ३६८ को लागतमा खुला व्यायामशाला निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो ।