२७ वैशाख २०८१, बिहिवार

विकासको साझेदार हो मिडिया : अधिकारी

१५ वैशाख २०८१, शनिवार
Image

इटाभट्टा, १५ वैशाख । प्रेस क्लव मेचीनगरले प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीसँग नगरको मिडिया क्षेत्रका समस्याका बारेमा छलफल गरेको छ ।

क्लवको कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा पत्रकारहरुको विचार र सुझाव सुनिसकेपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफु मेचीनगरका मिडियाको विकास र पत्रकारहरुको क्षमता विकासका लागि काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँ एक महिना अघि मेचीनगर नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्न आउनु भएको हो । लामो समयदेखि कर्मचारी नेतृत्वविहीन रहेको र आन्तरिक किचलो बढेका कारण मेचीनगरका धेरै समस्याहरु असरल्ल छन् ।

मेचीनगर सञ्चार प्रतिष्ठान मार्फत स्थानीय मिडिया र मिडियाकर्मीको हितका लागि काम गर्न बजेट निकासा गरिसकेको, स्थानीय विज्ञापन स्थानीय मिडियामा दिने व्यवस्था गरिएको, पत्रकारहरुले नगरबाट सरल र सम्मानजनक ढंगले सूचना पाउने व्यवस्था गरिएको र आगामी बजेटमार्फत पुरस्कारको व्यवस्था गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

मेचीनगरबासीको स्वाभिमान उचो बनाउन, सुशासनको प्रत्याभूति दिलाउन र विकास निर्माणको गति तीब्र बनाउन आफुले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जनाउँदै उहाँले मिडिया क्षेत्रलाई विकासको साझेदारको रुपमा सहकार्य गर्न नगरपालिका इच्छुक रहेको बताउनुभयो ।

उहाँले प्रमुख प्रशासकीय अधिकृत धेरै अवधि नटिक्ने गरेको विगतका कुरा सुनेको जनाउँदै अब आफुलाई असफल हुन छुट नभएको बताउनुभयो ।

मिडियाबाट आफुले खबरदारी र रचनात्मक सुझावको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

क्लवका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव देबु बानियाँ र स्वागत उपाध्यक्ष जीआर धितालले गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकारहरु मोहन काजी, तारामणि सापकोटा, अम्बिका भण्डारी, ज्ञानेन्द्र निरौला, झुलन रेग्मी, दिलीप थापा, अर्जुन कार्की लगायतले धारणा व्यक्त गर्नु भएको थियो । 

सो अवसरमा मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईले पनि मन्तब्य ब्यक्त गर्नु भएको थियो ।