२७ वैशाख २०८१, बिहिवार

किन खानै पर्छ हात्तीपाइलेको औषधि

१५ वैशाख २०८१, शनिवार
Image

झापा, १५ बैशाख । सरकारले यही बैशाख १६ देखि ३० गतेसम्म झापाका सबै मानिसलाई हात्तीपाइले रोगको औषधि खुवाउने व्यवस्था गरेको छ ।

खुट्टा सुन्निएर हात्तीका पाइला जस्तो मोटो हुने लक्षण भएकाले परजीवीबाट लाग्ने यो रोगलाई हात्तीपाइले नामाकरण गरिएको हो । 

हात्तीपाइले रोग लागेमा खुट्टा मात्र सुन्निने होइन, पुरुषको अण्डकोष सुन्निएर हाइड्रोशिल हुने र महिलाको स्तन सुन्निने समस्या पनि देखा पर्दछ ।

प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु खड्काका अनुसार यो रोग निको पार्ने उपचार नभएकाले रोग लाग्न नदिनका लागि औषधि खान अनिवार्य हुन्छ ।

रोग लागेर सुन्निएका शरीरका अंगहरु पूर्णरुपमा निको हुँदैनन् । औषधिको सेवनले ती अंगहरुमा समस्या बढ्नबाट जोगाउन भने सकिन्छ ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले एक जना सक्रिय रोगी रहेसम्म परिवारका सदस्य वा छिमेकीलाई सर्ने सम्भावना रहने भएकाले एकैचोटी सबैलाई औषधि खुवाएर रोगका परजीवी निमिट्यान्न अभियान सरकारले ल्याएको हो ।

हाल कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा मात्र हात्तीपाइलेका बिरामी छन् । त्यसैले यसपल्ट झापा केन्द्रित औषधि खुवाउने कार्यक्रम ल्याइएको हो ।

बैशाख १६ देखि ३० गतेसम्म यसको औषधि जहिले खाए पनि हुन्छ । यस अवधिमा गाउँ गाउँमा औषधि खुवाउन सरकारी टोली खटिएका हुनेछन् ।

झापामा गत वर्ष पनि औषधि खुवाइएको थियो । तर, सरकारले परिचालन गरेको टोलीको कमजोरी र सर्वसाधारण नागरिकको उदासिनताका कारण अभियान पूर्णरुपमा सफल बन्न सकेन ।

गत वर्ष ७८ प्रतिशतले मात्र औषधि खाएका थिए । यसपटक सबैले औषधि खानका लागि नेता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षा निकायले सर्वसाधारणलाई आह्वान गरेका छन् ।

शुक्रवार स्वास्थ्य कार्यालयले जिससको सभाहलमा एक कार्यक्रमको आयोजना गरी हात्तीपाइले रोगविरुद्धको औषधि खाने अभियानको शुभारम्भ गरेको छ ।

प्रदेश सांसद् छवि चुडाल, जिसस प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्ता रोक्का, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, प्रहरी उपरीक्षक मिलन केसी, डा. रामबाबु खड्का, नेपाली कांग्रेसका जिल्ला सदस्य रमेश पोखरेल लगायतले झापाका सञ्चारकर्मीहरुको उपस्थितिमा औषधि खाएर हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियानको सुरुवात गर्नु भएको थियो ।