३० वैशाख २०८१, आइतवार

इलाममा आज मतगणना, बजारमा डिस्प्लेबाट देखाइने

१६ वैशाख २०८१, आइतवार
Image

इलाम, १६ बैशाख । इलाम क्षेत्र २ को मतगणना आज हुँदैछ ।  

मतगणना इलाम बजारको सिटीहलमा हुनेछ । सिटीहलको एक कोठामा तारजारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने, प्रतिनिधि बाहिरै बस्नेगरी गणनास्थल तयार गरिएको छ ।

मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ । बैठकपछि मतगणना सुरु हुने छ ।

चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

सर्वदलीय बैठकले मतगणनाबारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ ।

उनका अनुसार मतगणनाको नतिजा मतगणनास्थलमा घोषणा गर्ने र त्यसको अंक डिस्प्लेमा सार्वजनिक गर्ने तयारी भएको हो । ‘गणनास्थलको भिड घटाउन र धेरैभन्दा धेरैलाई एकैपटक मतगणनाको नतिजा देखाउन डिस्प्लेमा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘तर, प्राविधिक व्यवस्थापन मिलाउन बाँकी छ ।’ 

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।