६ जेठ २०८१, आइतवार

लामो खडेरीले बोटमै सुक्न थाल्यो मकै

२४ वैशाख २०८१, सोमवार
Image

झापा, २४ बैशाख । लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसानहरु आकाशबाट कहिले वर्षा होला भनेर पर्खेर बस्न बाध्य छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्याएको कृषकहरु बताउँछन् ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्याउने बताउनुभयो । झापामा महिनौंदेखि वर्षा भएको छैन ।

“सिञ्चाई भइरहेको खेतीको  मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,” उहाँले भन्नुभयो–“तर, सिञ्चाईको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पुर्याउने सम्भावना छ ।”

झापामा सिञ्चाई सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिञ्चाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिञ्चाई आयोजना मर्मत सम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पटाउन सकेका छैनन् ।

मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिञ्चाई सुविधाबाट वञ्चित छ । निन्दा र टिमाई खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए तापनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ ।

निन्दा नहरको मुहान कच्ची रहेको र नदीमा पानीको स्रोत सुक्दै गएको कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताउनुहुन्छ ।

किसानका लागि मकै बाली धानपछिको मुख्य उत्पादन बाली हो । तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटी बताउनुहुन्छ । 

झापामा नदी सिञ्चाई बाहेक सोलार सिञ्चाइका योजना पनि सञ्चालनमा छन् । विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिञ्चाई गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ । यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ ।

मेचीनगरमा पालिया र निन्दा सिञ्चाई आयोजना, वुद्धशान्तिमा हँडिया फूलवासा सिञ्चाई आयोजना, बिर्तामोडमा देवनिया खोला सिञ्चाई आयोजना र हल्दिवारीमा हर्चना कृषक सिञ्चाई आयोजना वर्षौदेखि सञ्चालनमा छन् । कनकाई सिञ्चाई आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिञ्चाई नहर हो । 

झापा गाउँपालिकामा टाघनडुब्बा सिञ्चाई आयोजना, कमल गाउँपालिकामा भुतलुङ सिञ्चाई आयोजना र बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिञ्चाई आयोजनाले खेतीयोग्य जग्गामा सिञ्चाई सुविधा पुर्याएको छ ।

झापा गाउँपालिकामा बिगत पाँच वर्षदेखि मकै जोन लागू भएको छ । आँखाले हेर्दा भ्याउञ्जेलसम्म मकैखेती देखिने यस पालिकामा किसानहरुले व्यावसायिक रुपमा मकैखेती गर्दै आएका छन् । 

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा झापामा ४४ हजार २५० हेक्टर जमिनमा मकै खेती भएकोमा चालू आवमा मकैखेती विस्तार भएको छ । जिल्लामा वार्षिक अढाई लाख मेट्रिक टन मकैबाली उत्पादन हुने प्रक्षेपण गरिएको छ । 

झापा गाउँपालिकाको मकैजोनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिञ्चाई र उपकरणमा अनुदान उपलब्ध गराउँदै आएको छ । पाँच सय हेक्टर जमिनमा भएको खेतीलाई मात्र जोन घोषणा गर्ने चलन छ । झापा गाउँपालिका र कनकाई नगरपालिकाले मकै मकै खेत ीगर्ने किसानलाई सिञ्चाइमा लाग्ने विद्युत महसुलको ६० प्रतिशत रकम अनुदान दिदै आएको छ ।

कृषि विज्ञ राजेन्द्र खरेल लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तनको असर भएको बताउनु हुन्छ । खडेरी प्रभावित मकैखेतीमा घोगा नलाग्ने समस्या आउने उहाँको भनाई छ ।

वर्षाका लागि भगवानसँग प्रार्थना गर्दै झापाका किसानले भ्यागुताको बिहे र सन्सारी पूजा गर्दै आएका छन् । अर्जुनधारा नगरपालिका वडा नं. २ स्थित टाङटिङ खोलामा स्थानीय किसानहरुले बाजागाजाका साथ एक जोडी भ्यागुताको विवाह गराएका हुन् । वर्षाका लागि जिल्लाका विभिन्न खोला किनारमा भगवान इन्द्रको पूजा र भाकल पूजा समेत हुने गरेको छ ।

लेखकको बारेमा
Image
रासस

रासस