झापा, ६ मङ्सिर । नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जंगली क्षेत्रमा बसेपछि मानव–हात्ती द्वन्द्वको जोखिम बढेको छ ।
बन्यजन्तु संरक्षणमा चासो दिइरहेकाहरुले पहिल्यैदेखि यी दुई जिल्लाको जंगलमा घटीमा ३० वटा रैथाने हात्ती रहेको बताउँदै आएका छन् । अब फेरि हात्ती थपिएपछि मानवसँग द्वन्द्व बढ्ने त्रास उत्पन्न भएको हो ।
गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जंगलबाट पूर्वतर्फ लागेका २५ देखि ३० वटा हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो । ती हात्तीको बथान दुई वर्ष अघि बाहुनडाँगी गौडाबाटै नेपाल भित्रिएका थिए ।
डिभिजन बन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले मोरङबाट झापाको रतुवामाई वृक्षारोपणको जंगल क्षेत्रसम्म आइपुगेका ती हात्तीको बथान छिन्नभिन्न भएर ठूलो संख्या मोरङतिरै फर्किसकेको र अरु दुई झुण्ड झापाको जंगलतिरै बरालिरहेको जानकारी दिनुभयो ।
सीमित क्षेत्रफलको जंगलमा लगातार हात्तीको संख्या थपिदै जाँदा मानव–हात्ती द्वन्द्व स्वतः बढिरहेको छ । जंगलमा हात्तीका लागि त्रासरहित बास र पर्याप्त आहार छैन । भोकाएर हात्तीको बथान गाउँवस्तीतिर प्रवेश गर्ने हुँदा त्यसको मार जंगल छेउका बासिन्दाले व्यहोरिरहेका छन् ।
चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेलले मोरङको जंगलबाट पूर्व लाग्ने वित्तिकै हात्तीको बथान सरासर हिँडेर भारततिरै जान्छ भन्ने सोचाई गलत भएको बताउनुहुन्छ ।
“हात्ती घुमन्ते प्राणी हो, तर उसले आहार र सुरक्षित बासस्थान पाउञ्जेल हत्तपत्त ठाउँ छाडिहाल्दैन,” उहाँ भन्नुहुन्छ– “मोरङबाट झापातिर आइपुगेको हात्तीको बथानमा साना बच्चाहरु र किशोर उमेरका हात्तीको संख्या अधिक छ । उनीहरुलाई माउ हात्तीले डुलाउँदै, खुवाउँदै र ठाउँ चिनाउँदै ढिलो बसाई सार्छन् ।”
भारतको आसामदेखि पश्चिम बंगालको सुकुना हुँदै नेपाल भित्रिने बथानका हात्तीले पुस्तौदेखि निरन्तर ओहोरदोहोर गरिरहेको उहाँ बताउनुहुन्छ । हाल झापा र मोरङमा आहारका लागि धान, मकै र केरा पर्याप्त भएकाले हात्तीहरु भारततिर नगएको हुनसक्ने उहाँको भनाई छ ।
झापामा बथान छुट्टिएका हात्तीसँग दमकको हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा स्थानीयबासीको जम्काभेट हुन थालेको छ । बथानमा रहेका हात्ती दिनभरि बाक्लो बन क्षेत्रमा बास बस्ने र दिउँसो आहाराको खोजीमा हिँड्ने गर्छन् । जंगलमा दाउरा लिन र गाईबस्तु चराउन जानेहरु हात्तीको आक्रमणमा पर्ने उच्च जोखिम छ ।
रैथाने हात्तीको तुलनामा बसाई सरी आएका बथानका हात्ती कम आक्रामक हुने गरेको खरेल बताउनुहुन्छ । “मानिसको कुटाई र लखेटाइका कारण थेत्तरो भएको एक्ले रैथाने हात्तीहरु सिधै मान्छेलाई झम्टिन्छन्,” उहाँ भन्नुहुन्छ– “तर, बथानका हात्ती मान्छेले खेदाउँदा बालबच्चालाई घेराभित्र जोगाउँदै भाग्छन् । हत्तपत्त आक्रमणमा उत्रिदैनन् ।”
उहाँले जनावर भएकाले हात्तीलाई जिस्काउने, आगो झोस्ने र बिथोल्ने गतिविधि गर्दा नै मानवीय क्षति निम्तिने गरेको बताउनुभयो । जंगलमा खाने आहारको कमीले भोकाएका हात्तीहरु मान्छेको खेतीपाती र बस्तीतिरै पस्ने भएकाले हात्तीको संख्या बढेसँगै मानव–हात्ती द्वन्द्व बढ्ने सम्भावनालाई मध्यनजर गरेर आम जनसमुदाय र सरोकारवाला निकायहरुले आवश्यक सावधानी अपनाउनु पर्ने उहाँको सुझाव छ ।