७ जेठ २०८१, सोमवार

झापामा इजाजत प्राप्त ८८५ निजी हतियार

२६ वैशाख २०८१, बुधवार
Image

झापा, २६ वैशाख । मुलुकमा कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन । व्यक्तिगत असुरक्षा निम्तिने त्यस्तो कुनै त्रासदी नहुँदा नहुँदै पनि झापाली सर्वसाधारणले ठूलो संख्यामा निजी बन्दुक राखेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले ८५८ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताउनुभयो । भरुवा बन्दुकदेखि अर्धस्वचालित हतियार नागरिकसँग रहेको पाइएको छ ।

सुरक्षा चुनौति विश्लेषण गरेर मात्र जिल्ला प्रशासन कार्यालयले व्यक्तिलाई हातहतियार राख्न इजाजत दिने गर्दछ । खरखजना ऐन २०१९ र नियमावली २०२८ ले सर्वसाधारणले इजाजत लिएर व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाउने व्यवस्था गरेको छ । 

तर,यसरी राखिएको हतियार जथाभावी चलाउन र सार्वजनिक रुपमा प्रदर्शन गर्न पाइँदैन । पाँच बर्षसम्म नवीकरण नभएका हतियारको इजाजतपत्र रद्ध गरी हतियार जफत गर्न सकिने कानूनी व्यवस्था रहेको प्रजिअ बाँस्तोलाले बताउनुभयो । 

झापामा इजाजत लिएर हतियार राख्ने सर्वसाधारणले नियमित रुपमा कानून बमोजिम नवीकरण गरेका छैनन् । चालू आवमा १३० जनाले मात्र इजाजतपत्र नविकरण गरेको उहाँले जानकारी दिनुभयो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईका निजी सुरक्षाकर्मी (बडिगार्ड)ले बोकेको अर्धस्वचालित हतियार सर्वोच्च अदालत परिसरभित्र बरामद भएपछि निजी हतियारको इजाजत सम्बन्धी जनचासो बढेको छ ।

उक्त घटनापछि प्रसाईले हतियार राख्न लिएको इजाजतपत्रको छानविन भएको छ भने देशैभरिका प्रशासन कार्यालयले हतियारको इजाजतलाई व्यवस्थित बनाएका छन् । तिनको अभिलेख राख्ने र इजाजतको पुनरावलोकन गर्ने कार्य भइरहेको छ । 

झापा जिल्ला प्रशासन कार्यालयले हालै सूचना जारी गर्दै इजाजत लिएर हतियार राखेका व्यक्तिहरुलाई इजाजत नवीकरणका लागि हतियारसहित प्रशासन कार्यालय आउन अनुरोध गरेको छ । कतिपय व्यक्तिले जिल्ला बाहिर इजाजत नवीकरण गरेको भए त्यसको जानकारी गराउन समेत प्रशासनले आग्रह गरेको छ ।

कुनै हतियार सुरक्षा निकायमा बुझाएको भए त्यसको निस्सा प्रशासन कार्यालयमा पेश गर्न प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । इजाजत लिएको संख्याको आधारमा नवीकरण नभएपछि प्रशासनले धेरैजसो हतियारको नवीकरण जिल्ला बाहिर भएको हुनसक्ने आशंका गरेको छ ।

तीन दशक अघिसम्म झापाका देहाती गाउँमा डकैती र लुटपाटका घटना बारम्बार भइरहन्थे । भैपरिआउने असुरक्षाको सामना गर्न धनीमानी र पहुँचवालाले प्रशासनबाट इजाजत लिएर निजी हतियार साथमा राख्ने चलन थियो । पञ्चायतकालदेखि नै झापामा निजी सुरक्षा र प्रतिष्ठाका लागि हतियार राखिने गथ्र्यो । 

दशवर्षे सशस्त्र द्वन्द्वकालमा प्रशासनले सर्वसाधारणसँग रहेका सबै हतियार बुझाउन निर्देशन दिएको थियो । तर, केही हतियार विद्रोही माओबादीले कब्जा गरेका थिए । देशमा शान्ति सम्झौता भएपछि सरकारले आवश्यक हुनेलाई उनीहरुका हतियार फिर्ता दिएको थियो । 

झापामा निजी हतियारको दुरुपयोग भएको कुनै घटना दर्ता छैन । इजाजत नलिइकन कतिपय नागरिकले साना हतियार राखेको हुनसक्ने अनुमान छ । जंगल छेउछाउ बसोबास गर्ने कतिपय व्यक्तिले बन्यजन्तु शिकार गर्नका लागि इजाजत नलिइएको हतियार प्रयोग गर्ने गरेका छन् ।

आर्थिक वर्ष २०८०÷०८१ मा बाह्रदशी गाउँपालिका वडा नं. २ मा एउटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको देखिन्छ । हतियार खरखजना मुद्धामा एक व्यक्तिलाई मात्र अभियोग लागेको थियो । तर बन्यजन्तु शिकारमा बन्दुकको प्रयोग भएका घटना भने छन् ।

गत वैशाख ४ गते मेचीनगर वडा नं. १२ स्थित कालिका सामुदायिक बनभित्र एउटा भाले हात्ती गोली हानेर मारिएको अवस्थामा फेला परेको थियो । दुबै दाह्रा फेदैबाट काटेर लगिएको अवस्थामा भेटिएको हात्तीको निधार र कान छेउमा गोली लागेको पाइएको बन्यजन्तु तथा चरा संरक्षण समाज मेचीनगरका अध्यक्ष देबेन्द्र खरेलले बताउनुभयो ।

“हात्तीको निधारमा सिधा गोली हानिएको छ, चोरी शिकारीले नै यो घटना गराएको हो,” उहाँले बन्यजन्तु मार्ने दोषी पक्राउ गरेर कानूनी कार्वाही हुनुपर्ने माग गर्दै भन्नुभयो–“पहिले पहिले हरिण र बँदेलको शिकार गर्नेहरुले हतियारको प्रयोग गर्थे । हात्तीको दाह्रा तस्करी गर्ने गिरोह अब झापामा सक्रिय भएको पुष्टि भएको छ ।” हात्तीलाई गोली हानेर मार्ने गिरोह अहिलेसम्म पक्राउ परेको छैन ।