७ जेठ २०८१, सोमवार

स्वास्थ्य

बेलैमा उपचार गराए पाठेघर फाल्नु पर्दैन : डा. ज्योति

२७ वैशाख २०८१, बिहिवार
Image

विर्तामोड, २७ बैशाख । स्त्रीरोग तथा क्यान्सर विशेषज्ञ डा. ज्योति भजु लामाले पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको बेलैमा उपचार गर्न सके शल्यक्रिया गरेर पाठेघर फाल्नु नपर्ने बताउनु भएको छ ।

हेल्थ नेपाल मिडियाले आज विर्तामोडको होटल हेवनमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहिजकरण गर्दै उहाँले नेपालमा १० देखि २० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको बताउनुभयो ।

‘धेरै महिलाले आफ्नो रोग लुकाएर बस्नु हुन्छ,’ पूर्वाञ्चल क्यान्सर अस्पतालमा कार्यरत क्यान्सर विशेषज्ञ समेत रहनु भएको उहाँले भन्नुभयो–‘आङ खस्ने समस्या भएका महिलाले जतिसक्दो चाँडो उपचारमा जानु पर्दछ । बेलैमा उपचार गर्दा पाठेघर फाल्नु पर्दैन । औषधि उपचारबाटै रोग जाति हुन्छ ।’

धेरै सन्तान जन्माउने, सानो उमेरमा विहे गर्ने, सुत्केरीका बेला भारी काम गर्ने, कब्जियत हुने र धेरै सुर्ती सेवन गर्ने महिलालाई पाठेघर खसेर योनी बाहिरसम्म आउने समस्या देखिएको उहाँले बताउनुभयो ।

रोग लुकाएर बस्ने बानीले घाउ पाकेर अल्सर हुने जानकारी दिदै उहाँले पहिलो स्टेजमै समस्या थाहा भएमा फिजियोथेरापीबाटै र अरु स्टेजका बिरामीलाई सिलिकन रिङ लगाएर तथा शल्यक्रिया गरेर समस्याको समाधान गरिने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य पत्रकार एवम् हेल्थ आवाज अनलाइनका सम्पादक भिषा काफ्लेले नेपालमा स्वास्थ्य सम्बन्धी संबैधानिक तथा कानूनी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

उहाँले प्रत्येक नेपाली महिलालाई सुरक्षित प्रजनन हक र हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक रहेको बताउनुभयो । राज्यले आफ्नो बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउनु पर्ने धारणा राख्दै उहाँले कसैले उपचार इन्कार गरेमा छ महिना कैद र रु. ५० हजार जरिवाना हुने वा दुबै सजाय हुने कानूनी व्यवस्थाका बारेमा जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष सुशिला संग्रौलाले मन्तब्य राख्नु भएको थियो भने सहभागी पत्रकारहरुले सहजकर्ता डा. ज्योति भजु र भिषा काफ्लेसमक्ष विभिन्न जिज्ञासा राख्नु भएको थियो ।