७ जेठ २०८१, सोमवार

मतदानबाट छानिए इस्ट होराइजनका स्कुल क्याप्टेन छात्र–छात्रा

२८ वैशाख २०८१, शुक्रवार
Image

मेचीनगर, २८ बैशाख । मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविमा चुनावी प्रक्रियाबाट स्कुल क्याप्टेन (हेड गर्ल र हेड ब्वाई) निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा इरेजर चुनाव चिह्न भएकी छात्रा अन्वेशा श्रेष्ठ 'हेड गर्ल' र ग्ल्यू चुनाव चिह्न भएका छात्र प्रयास ढकाल 'हेड ब्वाई' पदमा निर्वाचित भएका छन् । 

कक्षा ६ देखि १० सम्मका ७०७ जना विद्यार्थीमध्ये ६३७ जनाले मतदान गरेका थिए भने ५६ जना अनुपस्थित थिए । 

निर्वाचनका लागि गठित आयोगका प्रमुख एवम् शिक्षक अनुज दाहालका अनुसार १४ मत बदर भएको थियो ।

हेड गर्लमा निर्वाचित भएकी इरेजर चुनाव चिह्न भएकी उम्मेद्वारले २९२ मत प्राप्त गरेकी थिइन् भने हेड व्वाईमा निर्वाचित ग्ल्यू चुनाव चिह्न भएका उम्मेद्वारले २८३ मत प्राप्त गरेका थिए ।

विद्यार्थीले विद्यालय परिसरमा रहेको मतदान केन्द्रमा लामवद्ध भएर विधिवत् मतदान गरेका थिए । निर्वाचनका लागि गठित आयोगका प्रमुख एवम् शिक्षक अनुज दाहालले निर्वाचनको सर्वमान्य नियम पालना गर्दै निर्वाचन गरिएको बताउनुभयो । 

नब्बे प्रतिशतभन्दा बढी मतदान भएको जनाउँदै उहाँले मतदान लगत्तै सार्वजनिक मुचुल्कासहित सर्वपक्षीय रोहबरमा मतगणना सुरु गरिएको बताउनुभयो ।

एक एक जना हेड गल्र्स र हेड ब्वाई छान्नका लागि गरिएको निर्वाचनमा पाँच पाँच जना उम्मेद्वार चुनावी मैदानमा थिए ।

विद्यालयका प्रिन्सिपल सञ्जीव राईले विद्यार्थीलाई निर्वाचन, मतदान र लोकतान्त्रिक प्रक्रिया बारे ज्ञान दिनका लागि निर्वाचन सम्पन्न गरिएको बताउनुभयो । 

मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, इलाका प्रहरी कार्यालय धुालबारीका इञ्चार्ज एवम् प्रहरी निरीक्षक रोहित शर्मा, पत्रकारहरु मोहन काजी, अर्जुन कार्की र हिमाल खरेलले मतदान र मतगणनाको अनुगमन गर्नु भएको थियो ।

विद्यार्थीको नेतृत्व छान्ने यस निर्वाचनका लागि उम्मेद्वार बनेका दश जनाले बिगत केही दिनदेखि आआफ्नो प्रतिबद्धता पत्रसहित मत मागेका थिए भने निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरेको थियो ।

विद्यालयले गरेको चुनावी सिकाईको अभ्यासलाई अभिभावक र विद्यार्थी दुबैले मन पराएका छन् । विद्यार्थीहरुले उत्साहपूर्वक निर्वाचनमा भाग लिएको बताएका छन् ।

उम्मेद्वारहरुलाई शैक्षिक सामग्रीसँग मिल्दोजुल्दो चुनाव चिह्न दिइएको छ । हेड ब्वाईको उम्मेद्वार बनेका आरोग्य सुबेदीले चुनावमा पहिलोपल्ट सहभागी हुन पाएकोमा रोचक लागेको बताउनुभयो ।

“हारजित जे भए पनि केही फरक पर्दैन,” उम्मेद्वार सुबेदीले भन्नुभयो–“उम्मेद्वार नै बन्न पाउँदा धेरै कुरा थाहा पाइँदोरहेछ । कसरी भोट माग्ने, कस्ता बाचाहरु गर्ने र कसरी मतदाता फकाउने भन्ने कुरा निकै राम्ररी जान्न पाइयो ।”

विद्यालय रहेको मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनालले विद्यार्थीहरु नै भोलिको देश हाँक्ने शक्ति भएकाले निर्वाचन बारे यसरी अभ्यास गराउनु उदाहरणीय कार्य भएको बताउनुभयो ।

यस्तो छ मत परिणाम ः

हेड गर्लतर्फ ः

इरेजर २९२, ग्लोब १२९, सिजर्स ८४, क्याकुलेटर ५८ र पेन्सिल ५१

हेड ब्वाइतर्फ ः

ग्ल्यू २८३ मत, सार्पनर १८४, स्केल ८७, बुक ३५ र मार्कर २९