१२ साउन २०८१, शनिवार

दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनट’ अभियान

२९ वैशाख २०८१, शनिवार
Image

झापा, २९ बैशाख  सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा प्रहरीले ‘दुई पांग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनट’ अभियान सञ्चालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी मोटरसाइकलका यात्रु हुने गरेकाले दुई पांग्रेका चालकहरुलाई लक्षित गरी सचेतनामूलक अभियान सुरु गरिएको बताउनुभयो ।

गत वैशाख १२ गते शिवसताक्षीको झिलझिलेबाट कनकाई नदीमा नुहाउन एकाविहानै गएका तीन युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । युवाहरु सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको बोलेरो जिपसँग ठोक्किएको थियो ।

उक्त दुर्घटनामा परी कमल–४ का २५ वर्षीय मौसम राई, २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको थियो । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेहरु प्राय कम उमेरका छन् ।

चालू आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएको थियो । जसमध्ये मोटरसाइकल दुर्घटना भएका कारण मृत्यु हुने ३९ जना रहेको न्यौपानेले जानकारी दिनुभयो । उक्त अवधिमा ४६३ वटा सवारी दुर्घटना भएकोमा मोटरसाइकलको संख्या २८८ रहेको थियो ।

“मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ,” उहाँले भन्नुभयो–“सवारी चालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ भन्ने सोचेर ट्राफिक प्रहरीसँग पाँच मिनट अभियान चलाएका हौं ।” 

अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरिएको छ । अभियान अन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षा सम्बन्धी प्रशिक्षण दिने गरेको छ । 

साँघुरो सडक, अत्याधिक सवारी चाप र तीव्र गति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएको छ । कान छोपिने हेल्मेट लगाउन, मदिरा सेवन गरेर सवारी नचलाउन र तीब्र रफ््तारमा नकुदाउन जिल्लाका ट्राफिक प्रहरी प्रमुख न्यौपानेले आग्रह गर्नु भएको छ ।

‘दुई पांग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनट’ अभियानमा खटिएका प्रहरीले मोटरसाइकलका चालकहरुलाई दुर्घटना हुनै नदिने उपायका लागि आवश्यक सतर्कताका बारेमा संक्षिप्त प्रशिक्षण दिने गरेका छन् ।

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा २५ वर्षमुनिका युवाको संख्या उल्लेख्य रहेको प्रहरीको भनाई छ । लागू पदार्थ र मदिरा सेवन गरेर मोटरसाइकल हाँक्ने व्यक्तिहरु दुर्घटनाको उच्च जोखिममा पर्छन् ।