१२ साउन २०८१, शनिवार

पत्रकार घिमिरेको नेतृत्वमा बन्नेभयो विपन्न बालबालिकाको घर

१ जेठ २०८१, मङ्गलवार
Image

झापा, १ जेठ । आमा गुमाएका मेचीनगर–१२ का विपन्न परिवारका तीन बालबालिकाका लागि पत्रकार खगेन्द्र घिमिरेको नेतृत्वमा घर निर्माण कार्य हुने भएको छ ।

तीन साता अघि ती बालबालिकाकी आमा पदमा भुजेलको ४८ वर्षको अल्पायुमै निधन भएको थियो । दैनिक ज्यालादारी काम गरेर परिवारको भरणपोषण गर्दै आएकी पदमाको निधनपछि दुई छोरा रोहन भुजेल (कक्षा ५), तारा भुजेल (कक्षा ४) र एक छोरी करुणा भुजेल (कक्षा २)को बिचल्ली भएको हो । उनीहरु स्थानीय बलभद्र माविमा अध्ययनरत छन् ।

“बालबालिकाको आमा बुवा दुबै मजदूरी गर्दथे,” बालबालिकाको अवस्थालाई सञ्चारमाध्यममार्फत सार्वजनिक गरेर सहयोग जुटाउन पहल गरेका पत्रकार घिमिरे भन्नुहुन्छ–“आमाको मृत्युपछि ती बालबालिकासँग कात्रो किन्ने एक पैसा पनि थिएन । काजकिरिया गर्न एक मुठी चामल पनि घरमा थिएन ।”

अर्काको मेलापातमा काम सघाउँदै आएका बाबु धनबहादुर भुजेलले खासै कमाइ नगर्ने र आमा पदमाले पालनपोषण गर्दै आएको कारण आमाको मृत्युपछि बालबालिकाको बिचल्ली भएको हो । तर छड्के अनुसन्धान मिडियाका सम्पादक घिमिरेको पहलमा काजकिरिया खर्च जुटेको छ भने हाल बास बस्नलायक पक्की घर निर्माणको कार्य अघि बढेको छ ।

मेचीनगर–१२ को खोला बगरमा रहेको पानी चुहिने झुपडीमा उनीहरुको बसोबास रहेको छ । बगरको दश धुर ऐलानी जग्गामा उक्त झुपडी बनेको थियो । 

पत्रकार घिमिरेको संयोजकत्वमा घर निर्माण समिति गठन भएको छ भने समितिले देश बिदेशका मनकारी दाताबाट प्राप्त सहयोग रकमबाट घर बनाउन सुरु गरिसकेको छ ।

“सहयोग जुट्ने क्रम जारी छ,” घिमिरेले भन्नुभयो–“इँटा, सिमेन्ट र जस्ता पाताको पक्की घर बनाउन थालेका छौं । बालबालिकाको शिक्षामा पनि सहयोग जुट्न थालेको छ ।” भान्सा घर, शौचालय र ट्यूवेल समेत निर्माण गरिने भएको छ ।

दाताहरुले नगद र घर निर्माणका सामग्री सहयोग दिने गरेका छन् । घर निर्माण सम्पन्न गर्न रु. १० लाखभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।  बढी लागत स्टिमेटमा टिनको छाना, भान्सासहित २ कोठे घर निर्माणको सुरुवात गरिने बताइएको छ ।

घर निर्माण समितिको सदस्यमा गंगा उराउ मेचे, गोपी रिजाल, सोम ओझा, रामबहादुर मगर, बिपिन प्रसाईं, बिष्णु बुढाथोकी, सन्दीप तिम्सिना, भीम कुँवर, कविन्द्र श्रेष्ठ र सुमित्रा गौतम रहेका छन् । घर निर्माण समितिका संयोजक घिमिरेले घर निर्माण सम्पन्न गर्न अझै आर्थिक अभाव भएकाले इच्छुक दाताहरुलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।