१२ साउन २०८१, शनिवार

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक

१ जेठ २०८१, मङ्गलवार
Image


झापा, १ जेठ  विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् ।

पारिश्रमिक नपाएपछि चिया मजदूरहरुले भोकभोकै बस्नु परेको बताएका छन् । गिरीबन्धु टी–इस्टेटको चिया बगान र उद्योगमा हाल १ सय ७० जना मजदुर स्थायी रुपमा कार्यरत छन् ।

विर्तामोड– ६ र अर्जुनधारा– ११ मा गिरीबन्धु टी इस्टेटको चिया बगान र कारखाना रहेको छ । मजदूरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान सञ्चालकहरुले बेवास्ता गरेपछि श्रम कार्यालय, विर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उनीहरुले गुहारेका हुन् । 

मजदुरहरुले सोमवार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई ज्ञापन पत्र बुझाउँदै पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सईकुमार राईले २०८० फागुनदेखि चिया मजदुरले पारिश्रमिक नपाएको बताउनुभयो । “महिनौंदेखि पारिश्रमिक नपाउँदा मजदूरहरुको बिचल्ली भएको छ,” उहाँले भन्नुभयो–“दोकानहरुले खाद्यान्न समेत उधारो दिन छाडेका छन् । मजदूरहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको छ ।”

कार्यरत मजदूरहरु बगानको कच्ची आवासगृहमा बस्दै आएका छन् । अरु आयस्रोत नभएका कारण मजदूरहरु भोकमरीमा परेको विषयलाई सरकारले गम्भीर रुपमा लिनु पर्ने मजदूर अगुवा नारायण दर्जीले बताउनुभयो ।

व्यवस्थापनले यसअघि पाक्षिक रुपमा मजदूरको पारिश्रमिक दिदै आएको थियो । भुक्तानी रोकिए पनि मजदूरहरु नियमित कामकाजमा खटिइरहेको उहाँले जानकारी दिनुभयो । पारिश्रमिक माग्न जाँदा व्यवस्थापन पक्षले वेवास्ता गर्दै आएको उहाँको गुनासो छ ।  

“पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ,” नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष राई भन्नुहुन्छ–“ उहाँहरु पैसै छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु पो भनेर त्रास देखाउनुहुन्छ ।”

मजदूरहरुले जिल्ला प्रशासन कार्यालय झापा र श्रम कार्यालय भद्रपुरमा पारिश्रमिक दिलाउन पहल गरिदिन ज्ञापन पत्र बुझाइसकेका छन् । पाश्रिमिक नपाए आन्दोलनमा उत्रिन बाध्य हुने मजदूरहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रको बोधार्थ गिरीबन्धु टी इस्टेट प्रा.लि.लाई पठाइएको छ ।

गिरीबन्धु टि–इस्टेटका व्यवस्थापक सन्तकुमार राईले आर्थिक संकटका कारण मजदूरहरुलाई पारिश्रमिक भुक्तानी गर्न नसकेको बताउनु भयो । बगान निरन्तर घाटामा गइरहेको र निकास पनि केही ननिस्किएको उहाँको भनाई छ ।

श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठले पारिश्रमिक नपाएको गुनासो लिएर मजदूरहरु कार्यालयमा आएपछि गिरीबन्धु टी इस्टेट प्रालिलाई पत्राचार गरिएको बताउनुभयो । “मजदूरहरु आउनु भएको थियो,” उहाँले भन्नुभयो–“पारिश्रमिक दिनु भनेर हामीले व्यवस्थापन पक्षलाई लिखित आग्रह गरिसकेका छौं ।”