१२ साउन २०८१, शनिवार

‘माओबादी’ र ‘एस’लाई पनि समेटेर कांग्रेसले बनायो गठबन्धन

२ जेठ २०८१, बुधवार
Image

मेचीनगर, २ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यही जेठ २६ गते हुने कार्यसमितिको चुनावमा नेपाली कांग्रेसले बाम पार्टीहरुलाई समेत समेटेर गठबन्धन निर्माण गरेको छ ।

लोकतान्त्रिक प्रगतिशील साझा प्यानल नामक गठबन्धन बनाएर नेपाली कांग्रेसले रोहित बुढाथोकीलाई अध्यक्ष पदको उम्मेद्वार घोषणा गरेको छ ।

आज काँकरभिट्टाको मेची सामुदायिक सभाहलमा उक्त गठबन्धनले आफ्ना उम्मेद्वारहरु सार्वजनिक गर्यो । अध्यक्ष पदका प्रत्याशी बुढाथोकीले मेचीनगरको विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसक्नु भएको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध भएका छन् ।

यस गठबन्धनबाट उपाध्यक्ष पद नेकपा माओबादी केन्द्रले, सचिव कांग्रेसले र कोषाध्यक्ष नेकपा एकीकृत समाजबादीले पाएको छ ।

जस अनुसार उपाध्यक्षमा राजु दाहाल, सचिवमा विशाल तामाङ र कोषाध्यक्षमा बिमला देबकोटा उम्मेद्वार बन्नु भएको छ ।

सदस्य पदमा सीता कार्की (कांग्रेस), पवित्रा तिवारी (माओबादी), पूर्ण योङहाङ लिम्बु (मञ्च), केदारजंग भट्टराई (कांग्रेस) र इन्द्र प्रधान (राप्रपा) उम्मेद्वार बन्नु भएको छ ।

यसैगरी, लेखा समितिको संयोजकमा किशोर भण्डारी (राप्रपा) र सदस्य विकास राउत (नेकपा एस) उम्मेद्वार बन्नु भएको छ । लेखा समितिका सदस्यमा कांग्रेसले पाउने एक सिटमा उम्मेद्वार घोषणा बाँकी छ ।

उम्मेद्वार घोषणा कार्यक्रममा नेपाली कांग्रेसका झापा उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, माओबादी केन्द्रका क्षेत्रीय इञ्चार्ज माधव अर्याल, नेकपा एकीकृत समाजबादीका झापा अध्यक्ष बेदराज रेग्मी, राप्रपा नेता विशालकृष्ण बाँस्तोला, महिला नेतृ शारदा पराजुली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष सुकविर कन्दङ्वाले शुभकामना मन्तब्य ब्यक्त गर्दै गठबन्धनको जित हुने दावी गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरुले गर्नु भएको थियो भने नेकपा माओबादी केन्द्रका मेघराज खड्काले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

चुनावमा करीव आठ हजार मतदाता रहेका छन् । चुनावमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने देखिएको छ । अर्को प्यानलको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ । जसमा प्यानलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजबादी पार्टी (जसपा)लाई समेटिने नेकपा एमालेका एक नेताले बताउनुभयो । यद्यपि रास्वपाले एकल चुनाव लड्ने कि एमालेको गठबन्धनमा सामेल हुने भन्ने निर्णय गरिसकेको छैन ।