२ कार्तिक २०८१, शुक्रवार

लागू औषधको डढेलोबाट विद्यार्थी जोगाउन अभियान

४ जेठ २०८१, शुक्रवार
Image

झापा, ४ जेठ  डढेलोसरी सल्किएको लागू औषधको कुलतबाट विद्यार्थीलाई जोगाउन झापामा विद्यालय लक्षित सचेतनामूलक अभियान तीब्र बनाइएको छ । स्थानीय सरकार, प्रहरी र समुदाय अभियानमा सक्रिय भएका छन् ।

शिवसताक्षी नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा लागू औषधको कुलत नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम पुर्याउन अभियान सुरु गरेको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो ।

नेपाल स्काउटको नगर समितिसँग सहकार्यमा नगरपालिकाले भगवती माध्यमिक विद्यालयबाट अभियान सुरु गरेको छ । आगामी एक महिनाभित्र नगरभित्रका २२ वटा माध्यमिक तहका विद्यालयका एक हजार विद्यार्थीमाझ अभियान पुर्याउने नगरपालिकाको योजना छ ।

“लागू औषधको डढेलोले परिवार, गाउँ र समाज सखाप हुँदै गएको छ,” नगरप्रमुख थोप्राले अभियान बारे जानकारी दिदै भन्नुभयो–“अहिले जसरी दूर्व्यसन फैलिदै आएको छ, यसको जडबाटै निराकरण गर्ने हो भने विद्यार्थीलाई सचेत गराउनु पर्छ भन्ने निष्कर्षमा पुगेर यो अभियान सुरु गरिएको हो ।”

नेपाल स्काउटको शिवसताक्षी नगर समितिका संयोजक डिगम पराजुलीले गाँजा, चरेस र मदिराको दूर्व्यसनमा फँसेका विद्यार्थीलाई मुक्त बनाउन र यसको नकारात्मक असरबारे जागरण ल्याउन अभियानमा स्काउट कार्यकर्ता सक्रिय रहेको बताउनुभयो । 

मेचीनगरको वडा नं. १, २, ३ र ४ मा बाहुनडाँगी जेसिजले विद्यार्थी लक्षित लागू पदार्थको दूर्व्यसन रोकथाम अभियान सञ्चालन गरिरहेको छ । ‘बाहुण्डाँगी जेसीजको अभियान ः लागूऔषधरहित समाजको पहिचान’ नामक एक साताव्यापी अभियानलाई १५ वटा विद्यालयका ७०० विद्यार्थीमाझ पुर्याउने लक्ष्य लिइएको जेसिजका अध्यक्ष देबु बानियाँले बताउनुभयो । 

“लागूऔषधका कारोवारीहरुले विद्यार्थीलाई उपभोक्ता बनाएका कारण समाजमा भयावह अवस्था सिर्जना भइरहेको छ,” बाहुनडाँगी जेसिजका अध्यक्ष बानियाँले अभियानको औचित्य प्रष्ट्याउँदै भन्नुभयो–“यसको नियन्त्रण गर्न विद्यार्थी माझ नै जानुपर्छ भनेर जेसिजले आफ्नै स्रोत साधनले अभियान चलाएको हो ।” 

लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा शाखाका प्रहरी नायव निरीक्षक कुमार लामिछानेले पछिल्लो समय खुला सिमानाको फाइदा उठाउँदै लागू औषधको ओसारपोसारमा बृद्धि भएको जनाउँदै यसलाई न्यूनीकरण गर्न विद्यार्थीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल प्रहरीले पनि समुदायसँगको साझेदारीमा लागूऔषधविरुद्ध चेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ । व्यूरोले मेचीनगरका विभिन्न विद्यालयमा गएर लागू औषधको दूव्र्यसनबाट जोगिन विद्यार्थीहरुलाई आग्रह गर्दै आएको लामिछानेले बताउनुभयो ।

नारी सञ्चार गृह झापाले भद्रपर नगरपालिकासँगको सहकार्यमा लागू औषधविरुद्ध अभियान सञ्चालन गरेको छ । लागू औषधको दूव्र्यसन समाजको विकराल समस्या भएको हुँदा यसको न्यूनीकरणमा सञ्चारकर्मीहरुले समेत भूमिका निर्वाह गर्नुपर्छ भनेर गृहले स्थानीय समुदायलाई समेटेर अभियान सञ्चालन गरेको गृहकी अध्यक्ष रेजिना गौतमले बताउनुभयो ।

वर्षेनी बढ्दै कारोवारी र प्रयोगकर्ता

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को दश महिनामा जिल्लामा २४० वटा लागू औषध कारोवारसँग सम्बन्धित मुद्धा दर्ता भएका छन् भने ३७२ जना अभियुक्त पक्राउ परेका छन् ।

झापामा प्रत्येक वर्ष लागूऔषधका कारोबारी र प्रयोगकर्ता बढिरहेका छन् । आर्थिक वर्ष ०७६÷०७७ मा झापामा १९० जना लागू औषधका कारोवारी तथा प्रयोगकर्ता पक्राउ परेका थिए भने आव ०७७/०७८ मा यो संख्या बढेर ३११ पुगेको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक यशोदा घलेका अनुसार आव ०७८/०७९ मा लागूऔषधका कारोबारी र प्रयोगकर्ता ३०९ जना पक्राउ परेका थिए भने २०० जनाविरुद्ध मुद्धा दर्ता गरिएको थियो । यसैगरी, आव ०७९/०८० मा ३३६ जना पक्राउ गरिएको थियो भने २०६ वटा मुद्धा दर्ता भएका थिए । 

कारोवारीहरुले सीमा नदीमा पौडी खेल्ने, गाईवस्तु चराउने र घुम्न जाने बहानामा लुकाईछिपाई लागूऔषध भित्राउने गरेको पाइएको छ । पछिल्लो समय प्रहरीले काँकडभिट्टा नाकामा निगरानीका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्दै आएको छ ।