२ कार्तिक २०८१, शुक्रवार

पत्रकार पृष्ठभूमिका आचार्यको नेतृत्वमा एमाले–जसपा गठबन्धन

५ जेठ २०८१, शनिवार
Image

झापा, ४ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आसन्न निर्वाचनमा नेकपा एमालेले जनता समाजबादी पार्टी (जसपा)लाई साथमा लिएर उम्मेद्वारहरु सार्वजनिक गरेको छ ।

एमाले र जसपाले पत्रकारिता पृष्ठभूमिका सन्तोष आचार्यको नेतृत्वमा प्रगतिशील समाजबादी प्यानल घोषणा गरेका हुन् । 

जसमा सचिव पदमा जनता समाजबादी पार्टीका तर्फबाट दिलीपजंग सुब्बा उम्मेद्वार बन्नु भएको छ । सुब्बा वत्र्तमान कार्य समितिको समेत सचिव हुनुहुन्छ । 

यस प्यानलबाट एमालेकै उपाध्यक्षमा गोविन्द्र गिरी र कोषाध्यक्षमा बिमला तामाङ उम्मेद्वार घोषित हुनुभएको छ । 

कार्य समितिको सदस्यमा तीर्थ नेपाल (एमाले), परशुराम निरौला (एमाले), डिल्ली काफ्ले (एमाले), मीरा कार्की (जसपा) र इन्दिरा कार्की (एमाले)बाट उम्मेद्वार हुनुहुन्छ । 

लेखा समितिको संयोजक पदमा बिकेन्द्र धिमाल (एमाले), सदस्यमा जसना राजबंशी (एमाले) र बालकुमार भुजेल (जसपा)बाट उम्मेद्वार हुनुहुन्छ ।

‘पवित्र गठबन्धन’ र ‘काम गर्ने टिम’


उम्मेद्वार घोषणा सभामा बोल्ने बक्ताहरुले नेकपा एमाले र जनता समाजबादी पार्टीबीचको गठबन्धन पवित्र भएको बताउनु भएको छ ।

नेकपा एमाले नेता तथा पूर्व प्रदेश सांसद श्रीप्रसाद मैनालीले एमाले र जसपाले पवित्र गठबन्धन गरेको बताउनुभयो ।

यो गठबन्धनले चुनावी मैदानमा उतारेका उम्मेद्वारहरु अनुभवीे विज्ञ र स्वच्छ छवि भएकाहरु रहेको जनाउँदै एमालेले अहिलेको कार्यसमितिको सफलतापूर्वक नेतृत्व गरेर जनताको मन जितिसकेको उहाँले बताउनुभयो ।

यसैगरी, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले नेपाली कांग्रेस पूँजीबादी पार्टी भएको हुँदा उसँग आफ्नो पार्टीले गठबन्धन गर्न नरुचाएको बताउनुभयो । 

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले उम्मेद्वार चयनमा एमालेभित्र कुनै मनमुटाव नभएको बताउनुभयो ।

समितिका वत्र्तमान अध्यक्ष राजकुमार पराजुलीले २३ वर्षपछि एमालेको नेतृत्वमा खानेपानीमा नयाँ टिम आउँदा आफुले काम गरेर उपभोक्ताको मन जितेको चर्चा गर्दै त्यस विरासतलाई जोगाउँदै थुप्रै नयाँ काम गर्नका लागि अहिले एमालेको नेतृत्वमा रहेको प्रगतिशील समाजबादी प्यानलका उम्मेद्वारहरुलाई जिताउनुको बिकल्प नरहेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष पदका उम्मेद्वार सन्तोष आचार्यले आफुले लामो समयसम्म खानेपानी संस्थामै पसिना बगाएको र उपभोक्ताहरुको समस्याबारे पूर्ण जानकार भएको चर्चा गर्दै मुहानदेखि मुखसम्म सुरक्षित पानी पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“समाजबादी विचार र व्यवहारलाई आत्मसात गर्नेहरुको गठबन्धन हो यो,” उहाँले भन्नुभयो–“मेरो आफ्नै पसिना बगेको खानेपानी क्षेत्रमा काम गरोस् भनेर तपाईहरुले उम्मेद्वार बनाउनु भएको हो । अहो र अहा भन्ने वातावरण हामी बनाउनेछौं ।”

सचिव पदका उम्मेद्वार दिलीपजंग सुब्बाले तीन वर्षदेखि उपभोक्ताले देख्ने र थाहा पाउने गरी काम गरेको जनाउँदै आफुहरु गफ होइन काम गर्न उम्मेद्वार बनेको बताउनुभयो । उहाँले खानेपानीका उपभोक्ताहरु रहेको सबै वडामा नेकपा एमालेका उम्मेद्वारहरुले स्थानीय तहको चुनावमा जितको चर्चा गर्दै खानेपानीको चुनाव पनि यस गठबन्धनले सहजै जित्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, केन्द्रीय सल्लाहकार विष्णु प्रसाई, अर्का केन्द्रीय सल्लाहकार भीम खवास लगायतको उपस्थिति रहेको थियो ।