२ कार्तिक २०८१, शुक्रवार

पत्रकारहरु सुध्रिनु पर्ने निष्कर्ष निकाल्दै सकियो मिडिया सम्मेलन

६ जेठ २०८१, आइतवार
Image

कनकाई, ५ जेठ । नेपाल पत्रकार महासंघ झापाले आज यहाँ आयोजना गरेको मिडिया सम्मेलनले पत्रकारहरु सुध्रिनु पर्ने र राज्यले सञ्चार सम्बन्धी कानून निर्माणमा ध्यान दिनु पर्ने निष्कर्ष निकालेको छ ।

मिडिया सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको सहजिकरणमा प्यानल डिस्कसन गरिएको थियो भने डाटामा आधारित डिजिटल पत्रकारिता र विज्ञापनको अवस्थाका बारेमा विज्ञ प्रशिक्षक अर्जुन कार्की र बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले प्रस्तुति दिनु भएको  थियो ।

कार्यक्रम पश्चात सम्मेलनले दश बुँदे घोषणा पत्र जारी गरेको छ । जसमा मिडियाको हितमा संघीय, प्रदेश र स्थानीय कानूनहरु निर्माण हुनुपर्नेमा जोड दिइएको छ ।

प्यानल डिस्कसनमा महासंघका पूर्व अध्यक्ष एवम् राससका अध्यक्ष धर्मेन्द्र झा र महासंघका उपाध्यक्ष रमेश बिष्टले पत्रकारहरुले समेत आचरण र व्यवहार सुधार्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका दुई मन्त्रीहरु राम राना (आर्थिक मामिला) र लीलाबल्लभ अधिकारी (आन्तरिक मामिला तथा कानून) र सूचना विभागका महानिर्देशक भरत गौतमको सहभागिता थियो भने प्रदेशका १४ वटै जिल्ला शाखाका अध्यक्षहरुलाई सहभागिताका लागि निम्त्याइएको थियो ।

कार्यक्रम कनकाईको जामुनखाडी सिमसारमा भएको थियो । महासंघको कोशी प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना, पूर्व अध्यक्ष बिक्रम लुइँटेल, मन्त्रीद्वय राना र अधिकारी लगायतले सो अवसरमा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

‘संघीयतामा सञ्चार ः नीति, अवस्था र चुनौती’ विषयक सम्मेलनमा जारी दश बुँदे घोषणा पत्रमा संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐनको माग गरिएको थियो ।

घोषणा पत्रमा सञ्चार नीति अनुरुप विकेन्द्रित नीतिलाई कार्यान्वयन गर्न, श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वयन गर्न, संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न, प्रविधिको बढ्दो विकाससँगै धराशायी पत्रकारिता क्षेत्रलाई उकास्न राज्य पक्षले सहयोग गर्नुपर्ने र लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी समावेशीताको नीतिलाई स्थानीय तहसम्म कार्यान्वयन गर्न सम्मेलनले माग गरिएको छ ।

महासंघका झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले स्वागत मन्तब्य र सचिव डिकेश लामा र सहसचिव अर्जुन राजबंशीले सञ्चालन गर्नु भएको थियो ।