२३ भदौ २०८१, आइतवार

राज्यसत्तालाई लक्ष्य होइन माध्यम बनाउनुपर्छ ः एमाले उपाध्यक्ष ज्ञवाली

६ जेठ २०८१, आइतवार
Image

झापा, ६ जेठ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कम्यूनिष्टहरुले राज्यसत्तालाई लक्ष्य होइन जनताको अवस्था बदल्ने माध्यको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । 

पार्टीको दोस्रो मेचीनगर नगर अधिवेशनको उद्घाटन कार्यक्रममा शनिवार झापाको काँकडभिट्टामा बोल्दै उहाँले जनताको अवस्था बदल्न एमालले समृद्ध नेपाल र सुखी नेपालीको सुझबुझपूर्ण नारा अघि सारेको बताउनुभयो । 

अवसर र सुविधाका लागि राजनीतिको नेतृत्वमा पुग्न चाहने प्रवृत्तिलाई हटाएर जनताको पक्षमा काम गर्नुपर्नेमा उहाँको जोड थियो । उपाध्यक्ष ज्ञवालीले विकास हुँदैमा जनता सुखी र खुशी नहुने धारणा व्यक्त गर्दै सत्ताको सुविधा र अवसर लिनका लागि राजनीतिमा लाग्ने गलत प्रवृत्ति हावी हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

“सत्ता भनेको नेताले कुर्सी पाउने हो, राम्रो सुविधा र अवसर पाउने हो भन्ने गलत बुझाई बनिरहेको छ,” उहाँले एमाले कार्यकर्ताहरुलाई उत्प्रेरक मन्तब्य दिदै भन्नुभयो–“राजनीतिको नेतृत्व तहमा पुग्न चाहनेले सुविधा होइन, जिम्मेवारीको गह्रुँगो भारी बोक्न तयार हुनुपर्छ ।”

उहाँले राजनीतिक रुपान्तरणपछि सामाजिक रुपान्तरणको खाँचो रहेको चर्चा गर्दै जनताको अवस्था बदल्न समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य लिनु पर्ने बताउनुभयो ।