१२ साउन २०८१, शनिवार

‘बाख्रा साटासाट’ कार्यक्रमबाट विपन्न समुदाय लाभान्वित

६ जेठ २०८१, आइतवार
Image

झापा, ६ जेठ । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा साटासाट’ कार्यक्रम लोकप्रिय बनेको छ । दुई वर्ष अघि सुरु भएको यो कार्यक्रममा सयौं किसान संगठित रुपमा लाभान्वित भएका छन् ।

नगरपालिकाको पशु तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले मेयर पकेट कार्यक्रममा आवद्ध नगरका १५ वटा कृषक समूहलाई बाख्राको पाठा, खोर, औषधि र नश्लसुधारमा नगरपालिकाले सहयोग पुर्याउँदै आएको बताउनुभयो ।

नगरपालिकाले सित्तैमा दिने तीन वटा बाख्राले पाठा व्याएपछि एउटा पाठा नगरपालिकालाई नै फर्काउनु पर्ने नियम बनाइएको छ । त्यसरी फर्काइएका पाठाहरु नगरपालिकाले फेरि अर्को नयाँ कृषक समूहलाई पाल्नका लागि सित्तै दिने गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा १५ वटा समूहमा रहेका २२५ जना बाख्रापालक किसानहरु कार्यक्रममा जोडिएका छन् । एउटा समूहमा १५ जना कृषक हुन्छन् ।

“सुरुमा एउटा किसानलाई तीन वटाका दरले बाख्राका पाठा वितरण गर्छौं,” शाखा प्रमुख दाहालले भन्नुभयो–“ती पाठा ब्याएपछि किसानहरुले एउटाका दरले नगरपालिकालाई फिर्ता गर्नुहुन्छ । यहीकारण कार्यक्रमको नाम नै ‘बाख्रा साटासाट’ राखेका हौं ।”

नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालनमा लागेका कृषक समूहलाई खोर निर्माण गर्न चालू आवमा रु. पाँच लाख २५ हजार बजेट खर्च गरिसकेको छ । किसानलाई रु. दुई लाख ५० हजार मूल्य बराबरका बाख्राको पाठा समेत वितरण गरिएको जनाएको छ । नश्ल सुधारका लागि हरेक समूहलाई रु. ७० हजार मूल्य पर्ने बोयर प्रजातिको बीउ बोका समेत सबै कृषक समूहलाई दिने गरिएको दाहालले बताउनुभयो । 

बाख्रा साटासाट कार्यक्रमले स्थानीय दलित, जनजाति, आदिबासी र विपन्न महिला समुदायको जीविकोपार्जनमा ठूलो मदत पुर्याएको विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतराले बताउनुभयो । उहाँले भन्नुभयो–“अधिकांश ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगार बनाउनै पर्दछ । यहीकारण नगरपालिकाले बाख्रा साटासाट कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।”

नगरपालिकाले सुरुमा सुँगुर साटासाट कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट नगरका विपन्न समुदाय लाभान्वित भएको पाइएपछि बाख्रा र कुखुरा साटासाट कार्यक्रम थप गरिएको उहाँले जानकारी दिनुभयो । सँुगुर र बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भए तापनि कुखुरा साटासाट कार्यक्रम भने सफल हुन सकेन ।

बाख्राको खोर, गाईको गोठ निर्माणसँगै रोग किरा नियन्त्रणका लागि समेत नगरपालिकाले किसानलाई अनुदान र प्राविधिक सहयोग दिदै आएको छ । बाख्राको वीमा नगरपालिकाले गरिदिदै आएको छ । शाखा प्रमुख दाहालका अनुसार जुका नाम्लेको औषधिसहित घाँसमा समेत नगरको सहयोग छ । 

नगरले माछा प्रवद्र्धन कार्यक्रममा समेत चालू आवमा रु. १४ लाख लगानी गरेको छ । बिर्तामोड नगरपालिका माछामा आत्मनिर्भर बनिसकेको छ । नगरपालिकाले यसवर्ष विभिन्न चरणमा १८ सय सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ ।

गाईपालन गरेर दुधमा नगरपालिकालाई आत्मनिर्भर बनाउन कार्यक्रम अघि सारिएको छ । यसवर्ष नगर क्षेत्रका किसानले पालेका एक हजार गाईको नगरपालिकाले वीमा गरेको शाखा प्रमुख दाहालले जानकारी दिनुभयो । पशु तथा मत्स्य विकास शाखाले नै २६ विगाहा जग्गामा पशु आहार (साइलेस)का लागि मकैखेती गरेको थियो ।