८ कार्तिक २०८१, बिहिवार

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौं ः मुख्यमन्त्री कार्की

६ जेठ २०८१, आइतवार
Image

झापा, ६ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लािग प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

झापाको विर्तामोडमा आज सुरु कोशी चलचित्र महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायांकनका लागि नेपाली र भारतीय चलचित्रहरुलाई आकर्षण गर्न सक्ने सामथ्र्य भएको बताउनुभयो ।

उहाँले कोशी प्रदेश सरकारले आगामी बजेटमा चलचित्र छायांकनका लागि ‘आउटडोर’ र ‘इन्डोर’ छायाँकनस्थल निर्माण गर्न बजेट छुट्याउने आश्वासन दिनुभयो । मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय प्रबर्धनमा टेवा पुर्याउने चलचित्र निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । 

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र मनोरञ्जन प्रदान गर्ने माध्यम मात्र नभएर २१ औं शताब्दीमा देशको राष्ट्रिता, कला र संस्कृतिको पहिचान बोक्ने शक्तिशाली माध्यम भएको बताउनुभयो । उहाँले प्रदेशहरुमा महोत्सवको आयोजना गर्ने कोशी पहिलो प्रदेश भएको जनाउँदै यस क्षेत्रको विकासका लागि प्रादेशिक विकास बोर्ड गठन हुनुपर्ने माग गर्नुभयो ।

जेठ ६ देखि ११ गतेसम्म सञ्चालन हुने कोशी चलचित्र महोत्सवको आयोजना कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको हो । यसको व्यवस्थापन कोशी चलचित्रकर्मी संघले गरेको छ । विर्तामोडमा उद्घाटन भएको महोत्सव जेठ ११ गते विराटनगरमा समापन हुने बताइएको छ ।

प्रदेशका भाषाभाषी र जातजातिको मौलिक चलचित्रहरु महोत्सवका क्रममा प्रदर्शन हुने भएका छन् । महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, गोष्ठी र सांस्कृतिक झाँकी प्रस्तुत हुने भएका छन् । विर्तामोड, विराटनगर, इटहरी लगायतका सहरमा छानिएका चलचित्रहरु महोत्सव अवधिमा प्रदर्शन गरिने चलचित्र कर्मी संघ कोशी प्रदेश समितिका महासचिव रमेश तिवारीले बताउनुभयो ।