१२ साउन २०८१, शनिवार

विश्व बैंकको सहयोगमा दुई ठूला सडक निर्माण सुरु

८ जेठ २०८१, मङ्गलवार
Image

झापा, ८ जेठ  विश्व बैंकको लगानीमा मेचीनगर नगरपालिकाभित्र दुई ठूला लगानीका सडक निर्माण सुरु भएको छ ।

मेचीनगरको काँकडभिट्टादेखि बाहुनडाँगी जोड्ने आठ किलोमिटर ३८० मिटरको सहिद विश्वनाथ मार्ग र धुलाबारीदेखि थोप्लेबिरान जोड्ने पाँच किलोमिटर ४७० मिटरको सहिद बीरेन मार्गको निर्माण थालिएको हो ।

मेचीनगरको वडा नं. ९ र १० मा बन्ने सहिद बीरेन मार्ग निर्माणको ठेक्का कनकाई इन्टरनेसनल बिल्डर्स प्रालिलाई दिइएको छ । आगामी २०८२ असार ३१ गतेसम्ममा निर्माण गरिसक्ने गरी रु. ३० करोड ८७ लाखमा मेचीनगर नगरपालिका र कनकाई बिल्डर्सबीच आज ठेक्का सम्झौता भएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । 

यसैगरी, मेचीनगरको वडा नं. ४, ५ र ६ मा बन्ने सहिद विश्वनाथ मार्गको ठेक्का भारतको पटनास्थित एनएमटी डेभलपर्स प्रालिले रु. २१ करोड २७ लाखमा पाएको छ । ठेक्का पाइसके पनि नगरपालिकासँग सम्झौता हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले दुबै सडकलाई नगरको गौरवका आयोजना मानेको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । उहाँले ती सडकको निर्माणमा विश्व बैंकले नेपाल सरकारलाई ऋण उपलब्ध गराएको र नेपाल सरकारले नगरपालिकालाई अनुदानमा दिएको जानकारी दिनुभयो ।

मेचीनगरका इन्जिनियर जीवन भट्टराईले दुबै सडकको ड्रेन र फुटपाथबाहेकको चौडाई सात मिटर हुने जानकारी दिनुभयो । नगरका प्राथमिकताका आठ वटामध्ये ती दुई सडक छानिएको जनाउँदै उहाँले अब बन्ने दुईलेन कालोपत्रे सडकको आयू कम्तीमा २० वर्षको हुने उहाँले बताउनुभयो ।

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले सडक निर्माणले मेचीनगरलाई छिमेकी पालिकाहरुसँग गुणस्तरीय सडक सञ्जालले जोडिने बताउनुभयो । सडक निर्माण क्रममा कुनै पनि झैझमेला भएमा परियोजना नै असफल हुने भएकाले सबै राजनीतिक दल र नगरबासीसँग सहयोगका लागि उहाँले अनुरोध गर्नुभयो । 

नेपाल सहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत मेचीनगरका दुई सडकसहित नेपालका २१ वटा नगरपालिकामा विश्व बैंकको सहयोगमा सडक निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।